अझै सकिएन राजेश र धिरेनको शितयुद्ध
कुनै समय नेपाली फिल्म क्षेत्रमा आफ्नो दबदबा कायम गरेका अभिनेता हुन्, राजेश हमाल र धिरेन शाक्य । यी दुई हिरोको नेपाली फिल्ममा लगभग एकै समयमा प्रवेश भएको थिए । त्यसबेला उनीहरुलाई एक(अर्काका प्रतिस्पर्धी भन्ने गरिन्थ्यो । यद्यपि, हमाल र शाक्यले केही फिल्ममा भने एकसाथ काम गरेका छन् । तर, हमाल जस्तो लोकप्रियता भने धिरेनले कमाउन सकेनन् ।
हिरो हुन आकर्षक हाइट, बोल्ड आवाज र सगठित शरीर हुनुपर्छ भन्ने मानक स्थापित गरेका उनीहरुले ‘भीष्म प्रतिज्ञा’, ‘अर्जुन’, ‘सिमाना’ लगायतका केही फिल्ममा सँगै काम गरेका थिए । तर, एक समय बक्सअफिसमा हिट मेशिन भनिने अभिनेता द्वय राजेश हमाल र धिरेन शाक्यबीच झण्डै डेढ दशकदेखि शितयुद्ध चलेको छ । अझ भनौं, उनीहरुबीच ‘पानी बाराबार’ को सम्बन्ध छ ।
हमाल र धिरेनबीच बोलचाल बन्द हुनुको कारण फिल्मकर्मीदेखि दर्शक सबैलाई थाहा छ । एक फिल्मको प्रचारको क्रममा अभिनेता धिरेनले ‘राजेश हमाललाई चिन्दिनँ’ भनेका थिए । उनको यो अभिव्यक्तिले एक समय नेपाली फिल्म क्षेत्र तरंगीत बनेको थियो । कतिपयले उनमा स्टारडमको घमण्ड बढेको भन्दै टिप्पणी गरे । यो घटनाको बारेमा अझै पनि फिल्मवृतमा चर्चा हुन्छ ।







