दुई वर्षपछी प्रदेशको राजधानी हेटौंडा र नाम वागमती तोकिदै
हेटौँडा । प्रदेश नम्बर–३ प्रदेशसभाबाट आज औपचारिक रुपमा नाम र राजधानी तोकिने भएको छ । प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडालाई कायम गर्नका लागि आज विहान नौ वजेबाट मतदान हुने निश्चित भएको हो । प्रदेशसभा गठन भएको करिब दुई वर्षपछि अर्थात् ७ सय ९ दिनपछि प्रदेश ३ ले आज आइतबार नाम र स्थायी राजधानी पाउने भएको हो ।
यसअघि प्रदेशसभाले नाम र राजधानी तोक्न नसेकोमा आम नागरिकको जनगुनासो आउने गरेको थियो । प्रदेशसभामा पनि यसकै विषयमा धेरै कुरा उठ्ने गरेको थियो । २०७४ माघ १८ गते पहिलो बैठक बसेको प्रदेशले प्रदेशसभा गठन भएको झण्डै दुई वर्षपछि प्रदेशले नाम र स्थायी राजधानी पाउने भएको हो ।
नाम र राजधानीका लागि आज संसदमा छलफल पछी आज विहान नौ वजेका लागि सभामुख सानुकुमार श्रेष्ठले वैठक आवहान गर्नुभएको छ । सभामुख भन्दा बाहेक एक सय ५ जना सांसदले स्थायी राजधानी हेटौंडाको पक्षमा मतदान गर्ने पक्का भएको छ । यता प्रदेशको नाम वागमतीमा स्वतन्त्र सांसद प्रेम तामाङ भन्दा बाहेक सवै दलका सांसद एक मत भएका छन् । आज विहान सम्मको सहमतीका आधारमा एक सय ८ जना सांसदले नामाकरणमा मतदान गर्ने भएका छन् ।
नेकपा र कांग्रेसका सांसदले ’फ्लोर क्रस’ नगरेमा दुई तिहाइभन्दा पनि बढी मतले हेटौँडा र राजधानी पारित हुने अवस्थामा छ । दुवै दलमा हेटौँडा र वागमती हुँदैन भन्दै असन्तुष्टि जनाए पनि प्रस्ताव दर्ता र पेश गर्दा सबैले समर्थन गरेका छन् । त्यसैले पनि ’फ्लोर क्रस’ हुने न्यून रहेको छ । प्रदेश ३ मा १ सय १० जना सांसद रहेका छन् । जसमध्येबाट सभामुखमा सानुकुमार श्रेष्ठ चयन भएपछि १ सय ९ जना रहेका छन् । १ सय ९ जनामध्ये नेकपाका सांसद ७९ जना छन् । जुन संख्या नै राजधानी पारितका लागि दुई तिहाइ मत रहेको हो । यसमा नेपाली कांग्रेसको २२, नेमकिपाको २, राप्रपा र राप्रपा संयुक्तको १ र १ मत जोड्दा राजधानी हेटौँडाको पक्षमा १ सय ५ मत पुग्दछ ।
राजधानी धुलिखेल प्रस्तावको पक्षमा भने विवेकशीलको ३ मत मात्र रहेको छ । एक मत रहेको स्वतन्त्र सांसद प्रेम तामाङले भने मत प्रक्रियामा सामेल नहुने घोषणा गरिसकेका छन् । राजधानी र नाम प्रदेशसभाबाट पारित गर्न ७४ मत आवश्यक पर्दछ । नाम बागमतीका लागि स्वतन्त्र सांसदबाहेक अरूको समर्थन रहेकाले १ सय ८ मत नै रहेको देखिन्छ । स्वतन्त्र सांसद तामाङले नाममा पनि नो भोट घोषणा गरिसकेका छन् ।
बागमती नाम प्रदेशसभा सचिवालयले दिएको समयमा सबै दलको तर्फबाट एउटै मात्रै नाम दर्ता भएपछि बागमती हुने पक्का भएको हो ।
प्रदेश ३ को नामको लागि प्रमुख प्रतिपक्ष दलका नेता ईन्द्र बानियाँले प्रस्ताव गर्नुभएको थियो । समर्थकमा नेकपा प्रदेश ३ संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुयाँल, राप्रपाकी रिता माझी, राप्रपा संयुक्तकी रिना गुरुङ, विवेकशील साझा पार्टीका रमेश पौडेल र शोभा शाक्य रहेका छन् । नाममा नेमकिपाले पनि समर्थन गरेको छ । बागमती मात्रै नाम दर्ता भए पनि यसलाई औपचारिकता दिन मतदान प्रक्रियामा चाहिँ गर्नै पर्ने हुन्छ ।
प्रदेशसभामा १३ जिल्ला मकवानपुर, चितवन, धादिङ, रसुवा, नुवाकोट, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, दोलखाका गरि १ सय १० जना प्रदेश सभासदस्य रहेका छन् । प्रदेश ३ मा पहिलो हुने निर्वाचनबाट निर्वाचितबाट ६६ जना, समानुपातिकबाट ४४ जना, दलगततर्फ तत्कालीन नेकपा एमालेबाट ५७ जना, तत्कालीन नेकपा माओवादी केन्द्रबाट २३ जना, कांग्रेसबाट २२ जना, विवेकशीलबाट ३ जना, नेपाल मजदुर किसान पार्टीबाट २ जना, राप्रपा (संयुक्त)बाट १ जना, राप्रपाबाट १ जना, स्वतन्त्र १ जना प्रदेश सभा सदस्यको प्रतिनिधित्व रहेको छ । प्रदेशको स्थायी राजधानी र नामाकरण गर्न दुई तिहाइ बहुमतबाट प्रस्ताव पारित गर्नुपर्ने संविधानमा व्यवस्था रहेको छ ।






