‘नालापानी’ हेरेपछि प्रधान सेनापतिले भने- ‘इतिहास बिर्सन नदिने फिल्म’
सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंमा आधारित भएर निर्माण भएको फिल्म ‘नालापानी’ को हालै एक विशेष प्रदर्शनी भएको छ । नेपाली सेनाको मुख्यालयमा भएको प्रदर्शनीमा नेपाली सेनाका प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले फिल्म हेरेका छन् ।
फिल्म हेरेपछि उनले आफू सन् १८१४ सालमा फर्किएको बताए । फिल्म राम्रो बनेको बताउँदै उनले ‘नालापानी’ ले नेपालको रक्षाको लागि पुर्खाले गरेको योगदान बिर्सन नदिने बताए । ‘यो फिल्मले हामीलाई इतिहास बिर्सन दिँदैन । युद्ध जित्न हतियारले सहयोग गर्छ तर युद्ध जित्न बिना रणनीति हतियारले मात्र हुँदैन भन्ने सन्देश ‘नालापानी’ ले दिन खोजेको छ,’ थापाले भने ।
फिल्मले नेपाली कमजोर नभएको देखाउने उनको भनाई छ । ‘नालापानी’ ले नेपाली सेनामा वीररस थप्दै बताउँदै उनले अगाडि भने( ‘आगामी दिनमा पनि यो फिल्मको लागि नेपाली सेनाबाट अझै सहयोग हुनेछ ।’ विशेष शोमा राष्ट्रपतिका स्वकिय सचिव भेषराज अधिकारी तथा राष्ट्रपति सचिवालयका सदस्यहरु एवं तीन सयभन्दा बढी नेपाली सेनाका अधिकारीहरु उपस्थित थिए ।







