प्रदेश ३ सरकारले नयाँ औद्योगिक क्षेत्र निर्माण गर्ने तयारी
हेटौंडा । प्रदेश नम्बर–३ सरकारले घोषित औद्योगिक क्षेत्र पुर्वाधार निर्माण कार्यक्रमको थालनी गर्न लागेको छ । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चालु आर्थिक वर्षमा १२ करोड रुपैयाँ छुट्याएको छ ।
प्रदेश सरकारले औद्योगिक क्षेत्रका लागि पहिलो चरणको पुर्वाधार विकास कार्यक्रम गर्न लागेको हो । प्रदेश सरकारले आफ्नै औद्योगिक क्षेत्र निर्माण गर्ने कार्यक्रम अनुसार बजेट छुट्याएर काम गर्न सुरु गर्न लागिएको प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले वताउनुभयो ।
मकवानपुर जिल्लाको मनहरी गाउँपालिकाको रापती आसपासको नदि उकास क्षेत्रमा र सिंधुलीको मरिनमा औद्योगिक क्षेत्र निर्माण गरिने उहाँले जानकारी दिनुभयो । त्यसैगरी प्रदेशका स्थानीय तहहरुमा औद्योगिक ग्राम निर्माण गर्नेगरी काम सुरु गर्न लागिएको छ ।
प्रदेश स्तरका औद्योगिक क्षेत्रका लागि तटवन्धन गर्ने, डिपीआर गर्ने जग्गा नाप जाँच गर्नेगरी रकम छुट्याएको मन्त्री नेपालले वताउनुभयो ।
मकवानपुरको मनहरी गाउँपालिकाको क्षेत्रमा भने चिनियाँ संगको सहकार्यमा काम गर्ने तयारी भएको छ । मनहरीमा चेकड्याम गरेर जमिन तयार गरिने उहाँले वताउनुभयो । यता सिंधुलीको मरिनमा भने ठुलो औद्योगिक क्षेत्र निर्माण गर्नका लागि तयारीमा प्रदेश सरकार लागेको छ ।
मकवानपुरको मनहरीमा २ अर्वमा कागज फ्याक्ट्री स्थापना गर्ने प्रदेश–३ सरकारको तयारी
मकवानपुरको मनहरीमा प्रदेश नम्बर ३ सरकारले कागज फ्याक्ट्री स्थापना गर्ने भएको छ । यसका लागि डीपीआर गरेर काम अगाडी बनाइएको छ । प्रदेश–३ सरकारले निजी क्षेत्र संगको साझेदारीमा कागज फ्याक्ट्री स्थापना गर्ने तयारी गरेको हो ।
करिव दुई अर्व रुपैयाँको लगानीमा मनहरीमा कागज फ्याक्ट्री स्थापनाको लागि तयारी गरिएको प्रदेश नम्बर ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले वताउनुभयो । बहुवर्षिय योजनामा राखेर काम गर्ने तयारी गरिएको हो । चालु आर्थिक वर्षमा कागज फ्याक्ट्रीको डीपीआरका लागि ५० लाख उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले छुट्याएको छ । कागज फ्याक्ट्री कसरी खोल्ने भन्न्े छलफल पनि तिब्र रुपमा अगाढी वढाइएको छ ।
निजी क्षेत्र संगको साझेदारीमा कागज फ्याक्ट्री खोल्ने तयारी गरिएको वताउँदै मन्त्री नेपालले भन्नुभयो–‘सरकार मात्रैले उद्योग खोल्दा अरु सरकारी उद्योगको जस्तो हालत हुने भएकाले निजी क्षेत्र संगको साझेदारीमा उद्योग खोल्ने मोडालिटी वनाउँदै छौ । त्यसमा सरकारको पनि शेयर रहने र निजी क्षेत्रको पनि शेयर राखेर कम्पनि तयार गरेर काम गर्न लागिएको हो ।’
प्रदेश सरकारले निर्माण गर्न लागेको कागज फ्याक्ट्रीका लागि जग्गा अभाव नहुने मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले वताउनुभयो । मनहरीमा सरकारी जमिन ८ हजार रोपनी नाप जाँच गरिएको छ । अरु सरकारी जमिन अतिक्रमण भएका स्थानमा पनि हटाउने तयारी भएको उहाँले वताउनुभयो ।

कहाँ कागज फ्याक्ट्री बनाउने भन्ने टुङ्गो नभइहाले पनि सरकारी जमिनको भने अभाव हुन नदिने वताउँदै उहाँले भन्नुभयो–‘हामी यस्तै खालका सरकारी संरचना मनहरीमा निर्माण गर्ने भनेर मनहरी गाउँपालिका क्षेत्रमा अतिक्रमण भएका जग्गा जमिनको खोजी गरेर भएका अतिक्रमण हटाउँदै छौ । अतिक्रमण हटाउनका लागि उपाध्यक्ष मनिला विष्टको संयोजकत्वमा समिति वनाएर काम सुरु गर्न लागेका छौ ।’






