प्रेमिकालाई धोका दिनु अपराध नभएको अदालतको निष्कर्ष
भारतको दिल्ली उच्च अदालतले प्रेमीप्रेमिकाबीचको सम्बन्धका विषयमा महत्त्वपूर्ण फैसला दिएको छ । शारीरिक सम्बन्ध राखेपछि प्रेमिकालाई धोका दिने काम निन्दनीय भए पनि यो अपराधै चाहिँ नभएको अदालतको निष्कर्ष छ ।
अदालतले यौन सहमतिमा होइनको अर्थ होइनबाट अघि बढेर होको अर्थ हो सम्म व्यापक स्वीकार्यता रहेको बतायो । शारीरिक सम्बन्ध राखेपछि बिहे गर्ने वाचा गरेर त्यसलाई पूरा नगरेको भन्दै महिलाले पुरुषमाथि बलात्कारको मुद्दा दायर गरेकी थिइन् । उक्त पुरुषलाई अदालतले सफाइ दियो अनि माथिको फैसला सुनायो ।
अदालतले भन्यो, ‘प्रेमीलाई धोका दिने काम केही व्यक्तिलाई खराब लागेपनि भारतीय दण्ड संहिताअन्तर्गत दण्डनीय अपराध हैन । दुई वयस्कले पारस्परिक सहमतिले शारीरिक सम्बन्ध बनाएमा त्यो अपराध हैन ।’
महिलाले बिहेको वाचाको प्रलोभनमा परेर शारीरिक सम्बन्ध बनाएको त्यसैले यसलाई स्वैच्छिक सहमति भन्न नमिल्ने भनी जिकिर गरेकी थिइन् । तर अदालतले यस जिकिरलाई खारेज गर्दै बलात्कारको आरोपको तीन महिनापछि महिला सन् २०१६ मा आरोपितका साथ स्वेच्छाले होटल गएको देखिएकोले बिहेको वाचाको प्रलोभन यसमा लागू नहुने बतायो ।
एजेन्सीको सहयोगमा






