भाषा दिवसको अवसरमा आज बागमती प्रदेशमा सार्वजनिक बिदा

जनपत्र
२४ बैशाख २०८३, बिहीबार ०७:४५

हेटौंडा । बागमती प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । बागमती प्रदेश सरकारले भाषा दिवसको अवसरमा आज प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।

बागमती प्रदेश राजपत्रको खण्ड ९ संख्या ९ प्रदेश राजपत्र भाग ३ अनुसार २०८२ चैत २३ गते प्रकाशित सूचना बमोजिम बैशाख २४ गते बिहीबार प्रदेश सरकारको सरकारी कामकाजको भाषासम्बन्धी दिवसको अवसरमा बागमती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

उक्त दिन प्रदेशभर सरकारी, सार्वजनिक संस्था तथा विद्यालय बन्द हुनेछन् । बागमती सरकारले २०८० बैशाख २४ गते प्रदेश सरकारी काम काजको भाषासम्बन्धी ऐन कार्यान्वयन गर्दै उक्त दिनलाई भाषा दिवस मनाउँदै आएको छ । प्रदेश सरकारले सरकारी कामकाजी भाषा नेपालीसहित तामाङ र नेवारी भाषालाई कानुनी रुपमै मान्यता दिएको छ । बागमती प्रदेशले सरकारी कामकाजी भाषा तीन वटा बनाएको छ ।

यो प्रदेशमा सबै भन्दाबढी तामाङ समुदायको बसोबास छ । बागमती प्रदेशमा कूल जनसंख्याको २० दशमलव ५४ प्रतिशत तामाङ बस्छन् । यस प्रदेशमा १८ दशमलब ३२ प्रतिशत ब्राहृमण समुदाय बस्छन् । प्रदेशमा क्षेत्री समुदाय १७ दशमलव १३ प्रतिशत र नेवार समुदाय १७ दशमलव ७ प्रतिशत रहेका छन् । मगर, विश्वकर्मा र गुरुङको जनसंख्याको प्रदेशको कूल जनसंख्याको क्रमशः ४ दशमलव ८७, २ दशमलव ५ र २ दशमलव २२ रहेको छ ।

थारू, राई, दमाई, सार्की र चेपाङको जनसंख्या क्रमशः प्रदेशको कूल जनसंख्याको १ दशमलव ६३, १ दशमलव ५२, १ दशमलव ३६, १ दशमलव ३२ र १ दशमलव १६ प्रतिशत रहेको छ । बागमती प्रदेशमा २०७८ सालका जनगणना अनुसार ६१ लाख १६ हजार ८ सय ६६ जनसंख्या रहेको छ । यसैगरी प्रदेशमा बोलिने भाषाको हिसाब सवै भन्दाबढी बोलिने भाषा नेपाली हो । ६७ दशमलव २३ प्रतिशतले नेपाली भाषा बोल्छन भने १८ दशमलव ४९ प्रतिशत तामाङ भाषा बोल्छन् । यस्तै १२ दशमलव ४४ प्रतिशत नेपाल (नेवारी) भाषा बोल्छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*