मकवानपुरमा अर्धमासिक तलब भुक्तानी सुरु, हेटौंडा खानेपानी बोर्ड अगाडि

जनपत्र
१७ बैशाख २०८३, बिहीबार १८:०९

हेटौंडा — मकवानपुर जिल्लामै पहिलोपटक अर्धमासिक रूपमा तलब भुक्तानी गर्ने कार्य हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले सुरु गरेको छ। नेपाल सरकार, अर्थ मन्त्रालयले गत वैशाख ४ गते अर्धमासिक अवधिमा तलब भुक्तानी गर्न निर्देशनसहित परिपत्र जारी गरेपछि बोर्डले सो व्यवस्था कार्यान्वयनमा ल्याएको हो।

अर्थ मन्त्रालयअन्तर्गतको उक्त परिपत्रमा राष्ट्रसेवक कर्मचारीहरूको तलबभत्ता सुविधा मासिक भुक्तानी गर्नुको सट्टा अर्धमासिक रूपमा उपलब्ध गराउने व्यवस्था मिलाउन भनिएको छ। सोही निर्देशनअनुसार बोर्डले आफ्ना कर्मचारीलाई अर्धमासिक रूपमा तलब वितरण थालेको जनाएको छ।

बोर्डका लेखा प्रमुख तथा सूचना अधिकारी सञ्जय कुमार न्यौपानेका अनुसार संस्थामा कार्यरत १०४ जना कर्मचारीलाई मासिक करिब ३८ लाख २४ हजार रुपैयाँ तलब भुक्तानी हुँदै आएको छ। अर्धमासिक प्रणाली लागू भएसँगै पहिलो चरणमा करिब १९ लाख १२ हजार रुपैयाँ निकासा गरिएको उनले जानकारी दिए।

अर्धमासिक तलब भुक्तानी प्रणाली लागू भएसँगै कर्मचारीहरूले मासिक तलब एकमुष्ट पाउने सट्टा दुई किस्तामा पाउनेछन्। यसले कर्मचारीहरूको नगद प्रवाह व्यवस्थापनमा सहजता ल्याउने तथा आर्थिक अनुशासन मजबुत बनाउने अपेक्षा गरिएको बोर्डले जनाएको छ।

सरकारले सार्वजनिक वित्त व्यवस्थापनलाई थप व्यवस्थित र पारदर्शी बनाउन यस्तो प्रणाली लागू गरेको बताइएको छ। जिल्लास्तरमा यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने पहिलो संस्थाका रूपमा हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड अगाडि देखिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*