मकवानपुरमा चुलियो महँगी, सर्वसाधारणको जनजीवन कष्टकर
हेटौंडा । मकवानपुरका नागरिकको दैनिकी हिजो आज महँगीको मारले थप कष्टकर बन्दै गएको छ । दैनिक उपभोग्य वस्तुदेखि यातायातसम्मको मूल्य वृद्धि भएपछि यहाँका सर्वसाधारण प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । मकवानपुरको हेटौंडा बजार सहित सबै स्थानीय तहका बजारहरुमा आम उपभोक्ताहरुले महगीको मार खेप्नुपरेको छ ।
पछिल्लो समय अन्तर्राष्ट्रिय घटनाक्रमले पेट्रोलियम पदार्थको मूल्यमा परेको प्रभावले स्थानीय बजारमा व्यापक असर देखिएको छ । इन्धनको मूल्य बढेसँगै ढुवानी खर्च महँगिँदा त्यसको प्रत्यक्ष असर खाद्यान्न, तरकारी, फलफूल र अन्य उपभोग्य वस्तुमा परेको हेटौंडाका व्यापारीहरू बताउँछन् ।
मकवानपुरका बजार क्षेत्रमा पछिल्लो समय तरकारी, चामल, दाल, तेललगायत अत्यावश्यक वस्तुको मूल्य मृद्धी भएर समस्या पर्दै गएको हेटौंडा–४ का उपभोक्ता श्याम सापकोटा बताउँछन् । बजारमा पाइने दैनिक उपभोग्य सामान, खाद्यान्नका सामानहरुसंगै फलफूलको मूल्य पनि आकासिएको छ । विशेषगरी केरा, स्याउ र सुन्तलाजस्ता फलफूलको मूल्य वृद्धि हुँदा सर्वसाधारणको भान्सा महँगिएको उपभोक्ताहरु बताउँछन् ।
तर, उपभोक्ताले चर्को मूल्य तिरे पनि किसानले भने उत्पादनको उचित मूल्य नपाएको गुनासो बढ्दो छ । बारीमा सस्तोमा बिक्री गर्न बाध्य किसान र बजारमा महँगोमा किन्न बाध्य उपभोक्ताबीचको अन्तरले बजार व्यवस्थापनमा कमजोरी देखिएको स्थानीयहरूको भनाइ छ ।
व्यापारीहरू भने ढुवानी खर्च, भाडा वृद्धि र आपूर्ति व्यवस्थापनमा आएको समस्याका कारण मूल्य बढेको दाबी गर्छन् । तर, उपभोक्ता अधिकारकर्मीहरू बजार अनुगमन कमजोर हुँदा बिचौलियाको चलखेल बढेको बताउँछन् ।
सरकारका सम्बन्धित निकायले बजार अनुगमनलाई प्रभावकारी बनाउन नसक्दा कालोबजारी र कृत्रिम अभावजस्ता समस्या बढ्दै गएको आरोप लाग्दै आएको छ ।
मकवानपुरमा महँगी नियन्त्रणका लागि स्थानीय प्रशासन र सम्बन्धित निकाय सक्रिय हुनुपर्ने माग सर्वसाधारणले गरेका छन् । अन्यथा, दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिले यहाँका नागरिकको जीवनयापन अझ कठिन बन्दै जाने चिन्ता व्यक्त गरिएको छ ।






