मकवानपुरमा सुमो र स्कारपियो ठोक्किँदा ९ जना घाइते
मकवानपुर — मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतस्थित हेटौंडा–भीमफेदी–कुलेखानी–काठमाडौं सडक खण्डमा सुमो र स्कारपियो गाडी एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार वैशाख ५ गते साँझ करिब ६:१० बजे काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना.३ च ६०५२ नम्बरको सुमोलाई सोही दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेट BR22AZ 2517 को स्कारपियोले ओभरटेक गर्ने क्रममा ठक्कर दिएको थियो। ठक्करपछि दुवै सवारी साधन सडकमा पल्टिएका थिए।
दुर्घटनामा सुमो चालक पर्सा वीरगञ्ज महानगरपालिका–१४ निवासी ४८ वर्षीय महाबुव आलम मन्सुरीको ढाडमा सामान्य चोट लागेको छ भने हेटौंडा उपमहानगरपालिका–५ शान्तीनगरका ४१ वर्षीय न्युटनबहादुर क्षेत्रीको दाहिने खुट्टा, हात, टाउको र छातीमा चोट लागेको प्रहरीले जनाएको छ। सुमोमा सवार अन्य दुई जना भने सकुशल रहेका छन्।
यस्तै स्कारपियोमा सवार ७ जनामध्ये चालक भारत बेतिया निवासी २६ वर्षीय सरुप पटेलको दाहिने खुट्टामा सामान्य चोट लागेको छ। ३२ वर्षीय गौरवकुमार सराफ सामान्य अवस्थामा रहेका छन् भने २६ वर्षीय ऋषभकुमार सराफको दाहिने हात र खुट्टामा चोट लागेको छ। ३५ वर्षीया रेश्मीदेवी सराफको दाहिने खुट्टामा सामान्य चोट लागेको छ भने ६५ वर्षीया शिलादेवी सराफ सामान्य अवस्थामा रहेकी छन्। ११ वर्षीय रविकुमार सराफको कम्मर र पेटमा सामान्य चोट लागेको छ भने १५ वर्षीया नन्दनीकुमारी सराफको कम्मर र पेटमा मध्यम चोट लागेको प्रहरीले जनाएको छ।
घाइते सबैलाई उपचारका लागि हेटौंडा अस्पताल पठाइएको छ। दुवै सवारी साधन घटनास्थलमै रहेको र सडक अवरोध नभएको प्रहरीले जनाएको छ। घटनाको थप विवरण आउन बाँकी रहेको छ।







