बागमती प्रदेशसभाको बैठक आज बस्दै

जनपत्र
६ बैशाख २०८३, आईतवार ०८:३४

मकवानपुर — बागमती प्रदेश सभाको बैठक आज बस्ने भएको छ। प्रदेश सभाको चालु अधिवेशन अन्तर्गत आज बिहान ११ बजेका लागि बैठक आह्वान गरिएको हो।

प्रदेश सभाका सचिव रामकुमार पौडेलका अनुसार यस बैठकमा गत २५ र २६ चैतमा प्रस्तुत विभिन्न विधेयकहरूको सैद्धान्तिक पक्षमा छलफल तथा दफाबार छलफल गर्ने कार्यसूची रहेको छ। उनका अनुसार सदनमा उठेका विभिन्न विषयहरूलाई सम्बन्धित समितिमा पठाइनेछ।

“सदनमा उठेका विषयहरू समितिमा पठाएर विधेयकमाथि दफाबार छलफल गरिनेछ। त्यहाँबाट प्राप्त सुझावलाई समेटेर छुट्टाछुट्टै प्रतिवेदन तयार पारिनेछ,” उनले बताए।

यता, सत्तारुढ दलहरू नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच सहमति नहुँदा यस अधिवेशनमा सभामुख चयन प्रक्रिया अगाडि बढ्ने सम्भावना न्यून देखिएको छ।

कांग्रेस निकट एक सांसदका अनुसार “एक दिन बैठक राखेर सदनको हिउँदे अधिवेशन अन्त्य गर्ने र केही दिनभित्र बजेट अधिवेशन बोलाएर सभामुख चयन गर्ने” विषयमा छलफल भइरहेको छ।

सत्ताको साँचो हस्तान्तरण गर्ने वा कायमै राख्ने भन्ने विषयमा कांग्रेस र एमालेबीच विवाद कायम रहँदा सभामुख चयन प्रक्रिया तथा मन्त्रालयको संख्या घटाउने विषय बागमती प्रदेशमा ओझेलमा परेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*