मकवानपुरका दुई निर्वाचन क्षेत्रको मतगणना बिहान ११ बजेदेखि, प्रत्यक वडालाई छुट्याएर भोट गनिने

जनपत्र
२२ फाल्गुन २०८२, शुक्रबार ०९:२३

हेटौंडा । मकवानपुरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना आज बिहान ११ बजेदेखि सुरु हुने भएको छ। आज बिहान बसेको सर्वदलीय बैठकले जिल्लाका दुवै निर्वाचन क्षेत्रको मतगणना वडानै पिच्छे गरिने भएको हो ।

बैठकको निर्णयअनुसार प्रत्येक वडाभित्र रहेका सबै मतदान केन्द्रका मतपेटिकाहरू एउटै स्थानमा जम्मा गरेर वडावार मतगणना गरिनेछ। यसरी गणना गर्दा एउटै वडाका सबै बुथका मत एकै पटक गणना गरिने व्यवस्था मिलाइएको छ।

मकवानपुर जिल्लामा कुल १०२ वटा वडा रहेका छन्। ती सबै वडाका मतहरू क्रमशः वडागत रूपमा गणना गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मतगणनालाई व्यवस्थित, पारदर्शी र सुरक्षित बनाउन मतगणना स्थलमा तारजालीको घेरा, सिसिटिभी क्यामेरा लगायतका सुरक्षा प्रबन्ध मिलाइएको छ। मतगणना स्थलमा राजनीतिक दलका प्रतिनिधि, उम्मेदवारका प्रतिनिधि तथा सुरक्षाकर्मीको उपस्थितिमा मतगणना प्रक्रिया अघि बढाइने जनाइएको छ।

निर्वाचन सम्पन्न भएसँगै मतगणनाको तयारी पूरा भइसकेको र सर्वदलीय सहमतिमा आज बिहान ११ बजेदेखि औपचारिक रूपमा मतगणना सुरु गर्न लागिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*