मकवानपुर–२ को विकासका लागि लवशेर विष्टका यस्ता छन् प्रतिबद्धता
मकवानपुर । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मकवानपुर क्षेत्र नम्बर–२ बाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार लबशेर विष्टले आफ्नो निर्वाचन क्षेत्रको समग्र विकासका लागि विभिन्न क्षेत्र समेटिएको प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । आज हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले प्रतिवद्धताहरु सार्वजनिक गरेका हुन् ।
क्षेत्र नम्बर–२ को विकास र निकासलाई केन्द्रमा राख्दै विष्टले भौतिक पूर्वाधार, कृषि, पर्यटन, खेलकुद, स्वास्थ्य, शिक्षा तथा सामाजिक न्यायका विषयलाई प्राथमिकतामा राखेर आफ्ना योजनाहरू अघि सारेका छन् ।
भौतिक पूर्वाधार विकासतर्फ उनले चित्लाङ–चन्द्रगिरी सुरुङमार्ग निर्माणमा पहल गर्ने प्रतिबद्धता जनाएका छन् । यसैगरी निर्वाचन क्षेत्रभित्र अत्यावश्यक स्थानमा पुल तथा सार्वजनिक भवन निर्माणलाई अघि बढाइने र क्षेत्रीय सडक सञ्जाललाई स्तरोन्नति गर्दै राष्ट्रिय राजमार्गसँग जोड्ने योजनामा विशेष पहल गरिने बताएका छन् ।
पर्यटन प्रवर्द्धनलाई आर्थिक विकासको आधार मान्दै विष्टले क्षेत्रभित्र रहेका महत्वपूर्ण पर्यटकीय स्थलहरूको संरक्षण, संवर्द्धन तथा नयाँ गन्तव्यहरूको पहिचान र विकासमा जोड दिने बताएका छन् ।
खेलकुद क्षेत्रको विकासका लागि आवश्यक भौतिक संरचना निर्माण, खेलाडी उत्पादनका लागि प्राविधिक सहयोग तथा राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने वातावरण निर्माणमा पहल गरिने उनको भनाइ छ ।
कृषि क्षेत्रलाई आर्थिक समृद्धिको मुख्य आधार बनाउने लक्ष्यसहित उनले खेतीयोग्य जमिनमा पूर्ण सिंचाई सुविधा उपलब्ध गराउने, कृषि आधुनिकीकरण गर्ने तथा भौगोलिक विशेषताअनुसार उत्पादन क्षेत्र विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । किसानलाई समयमै बीउ तथा मल उपलब्ध गराउने व्यवस्था मिलाइने पनि उनले बताएका छन् ।
स्वास्थ्य क्षेत्रमा जनताको सहज पहुँच सुनिश्चित गर्न अस्पतालहरूमा आवश्यक जनशक्ति, विशेषगरी डाक्टर र प्राविधिक व्यवस्थापनमा विशेष ध्यान दिइने योजना अघि सारिएको छ ।
यसका साथै विष्टले गाँजालाई कानुनी संशोधनमार्फत आयआर्जनको स्रोतको रूपमा विकास गर्न पहल गर्ने, भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणका लागि कानुनी सुधारमा भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् ।
नदी तटीय बस्ती संरक्षण, झोरा नियन्त्रण, सुरक्षित मानव बस्ती विकास तथा एकीकृत बस्ती अवधारणालाई अगाडि बढाइने उनको योजना छ । मानव र जंगली जनावरबीचको द्वन्द्व न्यूनीकरणका लागि विद्युतीय तारबार तथा कंक्रीट संरचना निर्माणमा जोड दिइने र पीडित कृषकलाई क्षतिपूर्ति वितरणमा न्यायोचित व्यवस्था गरिने उनले बताएका छन् ।
साथै गुणस्तरीय र सर्वसुलभ शिक्षामा आम नागरिकको पहुँच सुनिश्चित गर्न आवश्यक पहल गरिने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन् ।
नेकपाको चुनाव प्रचार प्रसार समितिले विष्टका यी योजनाहरू मकवानपुर–२ लाई समृद्ध र व्यवस्थित क्षेत्रको रूपमा विकास गर्ने दीर्घकालीन आधार बन्ने विश्वास व्यक्त गरेको छ ।







