हेटौंडा । आगामी प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र बन्दै गइरहेका बेला नेपाली कांग्रेस मकवानपुरका दुबै उम्मेदवारहरूले आफूहरूको जित सुनिश्चित रहेको दाबी गरेका छन् । नेपाली कांग्रेस मकवानपुरले आज आयोजना गरेको पत्रकार सम्मेलनमा क्षेत्र नम्बर–१ की उम्मेदवार तथा कांग्रेसकी निवर्तमान सहमहामन्त्री महालक्ष्मी डिना उपाध्याय र क्षेत्र नम्बर–२ का उम्मेदवार एवं कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले आफ्नो जितप्रति पूर्ण आत्मविश्वास व्यक्त गरेका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै उपाध्यायले आफूले लामो समयदेखि मकवानपुर क्षेत्र नम्बर–१ का जनताको सुख–दुःखमा साथ दिँदै आएको उल्लेख गर्दै जनताले आफ्नो कामको मूल्यांकन गर्ने विश्वास व्यक्त गरिन् । उनले भनिन्, “म पदमा हुँदा होस् वा नहुँदा, जनताका लागि निरन्तर काम गर्दै आएको छु । विकास, समावेशिता र जनजीविकाका मुद्दामा मैले निरन्तर आवाज उठाएको छु । त्यसैले यसपटक जनताको साथ कांग्रेसलाई नै प्राप्त हुनेमा म विश्वस्त छु ।”
त्यस्तै, क्षेत्र नम्बर–२ का उम्मेदवार बुद्ध लामाले पनि आफूले पार्टी नेतृत्वमा रहँदा तथा व्यक्तिगत पहलमा जिल्लाको विकासका लागि गरेका कामका कारण मतदाताहरूको विश्वास कांग्रेसप्रति अझ मजबुत बनेको बताए । उनले भने, “हामी चुनावका बेला मात्र देखिने नेता होइनौं । जनताको बीचमै बसेर काम गरेका कारण जनताले यसपटक पनि हामीलाई नै रोज्नेछन् भन्नेमा ढुक्क छौं ।”
उनले कांग्रेसले अघि सारेका स्थायित्व, सुशासन र विकासका एजेण्डाहरूले मतदातालाई आकर्षित गरिरहेको दाबी गरे । लामाका अनुसार मकवानपुरका दुबै क्षेत्रमा कांग्रेसको संगठन बलियो रहेकाले परिणाम पनि सकारात्मक आउने अपेक्षा गरिएको छ ।
उक्त कार्यक्रममा हालै राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरको सभापति पदबाट राजीनामा दिएका भरत पराजुली लगायतका नेताहरूलाई कांग्रेसमा स्वागत गरिएको थियो । नवप्रवेशी नेताहरूलाई कांग्रेस मकवानपुरका पूर्व सभापति माइकल रामचन्द्र अर्याल ले टीका, माला र खादा लगाएर पार्टीमा स्वागत गरेका थिए ।
स्वागत कार्यक्रममा बोल्दै अर्यालले लोकतान्त्रिक मूल्यमान्यतामा विश्वास राख्ने सबैलाई कांग्रेसमा स्थान रहेको उल्लेख गर्दै पार्टी अझ बलियो बन्दै गएको बताए । उनले भने, “देशको राजनीतिक स्थायित्व र लोकतान्त्रिक भविष्यका लागि कांग्रेस नै भरपर्दो शक्ति हो भन्ने बुझाइ समाजमा बढ्दै गएको छ । त्यसैले विभिन्न दलबाट नेता तथा कार्यकर्ताहरू कांग्रेसमा समाहित हुने क्रम बढेको हो ।”
कार्यक्रममा सहभागी नेताहरूले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै आगामी निर्वाचनमा संयुक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कांग्रेस मकवानपुरले यसलाई संगठन सुदृढीकरणको महत्वपूर्ण कदमका रूपमा लिएको जनाएको छ ।
पत्रकार सम्मेलनमार्फत कांग्रेसले मकवानपुरका दुबै निर्वाचन क्षेत्रमा चुनावी माहोल आफ्नो पक्षमा बन्दै गएको संकेत गर्दै आगामी निर्वाचनमा विजय हासिल गर्ने दाबी पुनः दोहोर्याएको छ ।







