मकवानपुरका गाउँगाउँमा तिहारमा गुन्जिन छाड्यो मादलको ताल

जनपत्र
६ कार्तिक २०८२, बुधबार ०७:०५

हेटौंडा । एक समय थियो, तिहार लाग्दा मकवानपुरका गाउँगाउँ रातभर मादल, ढोलक र झ्यालीको तालमा गुन्जिन्थे । देउसी–भैलो खेल्ने युवा समूह घर–घर पुग्थे, गाउँका भित्तामा देउसीको लयमा बज्ने स्थानीय भाका मात्र होइन, गाउँका समस्या र खुसीका कुरा पनि गीतमा मिसिन्थे । तर अहिले त्यो ताल हराउँदै गएको छ ।

मकवानपुरका धेरै गाउँमा तिहारको रंगीनता अझै बाँकी छ, तर मादलको ताल र लोक भाकाको मिठास क्रमशः हराउँदै छ । परम्परागत रूपमा गाउँका युवायुवती समूह बनाएर देउसी–भैलो खेल्ने चलन अहिले स्पीकरमा बज्ने आधुनिक गीत र नाचले विस्थापित गर्दै गएको छ ।

देउसी भैलोमा पहिले गाउँका दुःख, समस्या, सामुदायिक सन्देश र सामाजिक चेतना मिश्रित गीत गाइन्थे । “देउसी रे देउसी रे” भन्दै सुरु हुने ती भाकामा गाउँकै कुरा मिसिन्थ्यो । कहिले विद्यालयको निर्माणको माग, कहिले बाटोको कुरा, कहिले गाउँको मिलन र सहयोगको कथा । तर अहिलेका देउसी समूहहरू आधुनिक गीतमा रमाउन थालेका छन्, जसले परम्पराको स्वाद हराउँदै गएको स्थानीय बासिन्दा बताउँछन् ।

हेटौंडा उपमहानगरका १६ का सन्देश लामिछाने भन्छन्, “हामीले देउसी खेल्दा मादल बजायौं भने पुरानो जस्तो लाग्छ भन्ने साथीहरूको सोच हुन्छ, सबैले स्पीकरमा नयाँ गीत राखेर नाच्न रुचाउँछन् ।”

त्यसैगरी, बकैया गाउँपालिकाकी ६० वर्षीया मञ्जु थापा पुरानो समय सम्झिन्छिन् “पहिला देउसी आउँदा मादल, ढोलक र झ्यालीसँगै गाउँको हरेक घरमा रमाइलो हुन्थ्यो । अहिले भने केवल गाडीको स्पीकरमा बजेको गीतमा मात्र नाच देखिन्छ । त्यो आत्मीयता, त्यो सान्निध्य छैन अब।”

सांस्कृतिक जानकारहरूको भनाइमा, आधुनिकता र प्रविधिको प्रभावले परम्परागत सांस्कृतिक अभिव्यक्तिहरू क्रमशः लोप हुँदै गएका छन् । रेडियो, मोबाइल र युट्युबमार्फत नयाँ र र्‍याप शैलीका गीतहरूले गाउँघरमा स्थान पाएका छन् । त्यसैको परिणामस्वरूप लोक भाकामा आधारित देउसी–भैलोले पुस्तान्तरण गुमाउँदै गएको हो ।

तर सबै ठाउँमा परम्परा हराएको छैन । थोरै भए पनि केही गाउँमा स्थानीय युवा क्लबहरूले मादल र झ्याली बजाउँदै देउसी–भैलो खेल्ने परम्परा जोगाइरहेका छन् ।

मकवानपुर गढी गाउँपालिका वडा नम्बर–५ का रामकृष्ण तामाङ भन्छन्, “देउसी–भैलो हाम्रो मौलिक सांस्कृतिक सम्पदा हो । यसमा लोक भाका, सन्देश र समुदायको एकता झल्किन्छ । अहिले आधुनिक उपकरणको प्रभावले त्यो मौलिकता हराउँदै गएको छ, त्यसलाई पुनः जीवन दिन स्थानीय तहले पनि पहल गर्नुपर्छ ।”

मादल, झ्याली र देउसीका स्वरहरूले गाउँमा ल्याउने रमाइलोपन, आत्मीयता र संस्कृतिको सौन्दर्य अहिले केवल सम्झनामा सीमित हुँदैछ । तर पनि, हरेक पुस्ताले थोरै प्रयास गरे भने मादलको त्यो ताल पुनः गाउँगाउँमा गुन्जिन सक्छ । जसले तिहारलाई केवल प्रकाश र मिठाईको पर्व नभई संगीत र संस्कृतिको आत्मीय उत्सव बनाउँछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*