मकवानपुरमा सयपत्री र मखमली फूलको मूल्य तेब्बर, बिचौलियाका कारण उपभोक्ता मारमा

जनपत्र
५ कार्तिक २०८२, मंगलवार ०७:१७

हेटौंडा । तिहार सुरु भएसँगै मकवानपुरमा पनि सयपत्री र मखमली फूलको मूल्य आकाशिएको छ । बारीदेखि बजारसम्म फूलको माग बढेसँगै मूल्य तेब्बर दरमा वृद्धि भएपछि उपभोक्ताहरू मारमा परेका छन् । अझ किसानबाट बिचौलियाले खरिद गर्ने र उपभोक्तालाई बिक्री गर्ने भएको हुँदा उपभोक्ताहरु थप मारमा परेका छन् ।

हिजो लक्ष्मीपूजाको दिन बिहानैदेखि हेटौंडा बजारमा सयपत्री र मखमली फूलको किनमेलमा भिड लागेको थियो । तर, मूल्य सुन्दा धेरै उपभोक्ताको उत्साह घटेको छ । विगत वर्षहरूमा सहजै पाइने फूल र माला यस वर्ष तेब्बरभन्दा बढी मूल्यमा बिक्री भइरहेको व्यापारीहरूले बताएका छन् ।

मकवानपुरका बिभीन्न स्थानीय तह र चितवन क्षेत्रबाट फूल ल्याएर मकवानपुरका बजारहरू हेटौंडा, फापरबारी, भिमफेदी र हाँडीखोलामा बिक्री गर्ने व्यापारीहरूका अनुसार किसानहरूले नै उत्पादन मूल्य वृद्धि गरेपछि बजारमा फूल महँगो भएको बताए पनि बिचौलियाका कारण थप मुल्य बृद्धी भएको हेटौंडा ४ का उपभोक्ता स्याम सापकोटा बताउँछन् ।

हेटौंडा बजारमा सयपत्रीको एक किलो फूल ७ सय रुपैयाँसम्ममा बिक्री भइरहेको छ भने टनेलमा उत्पादन भएका गुणस्तरीय फूलको मूल्य झन् बढी छ । केही व्यापारीले एउटै सयपत्रीको माला ३ सय रुपैयाँसम्ममा बिक्री गरिरहेका छन् ।

व्यापारी प्रमिला लामाका अनुसार, “हामीले पनि किसानबाट फूल महँगोमा ल्याएका हौं । अघिल्लो हप्ता ३०० रुपैयाँ किलोमा पाइने फूल अहिले निकै बृद्धी भएको हो ।”

फूल र मालासँगै तिहारमा चाहिने अन्य सामग्रीको मूल्य पनि आकासिएको छ । हेटौंडा बजारका फलफूल तथा पूजा सामग्री व्यापारीहरूका अनुसार भोगटे हाल ६० बाट १५० रुपैयाँमा पुगेको छ भने बिमिरो ३० बाट १०० देखि १५० रुपैयाँमा बिक्री भइरहेको छ । भाइमसला, फलफूल र मिष्ठान्न पदार्थको मूल्य पनि उल्लेख्य रूपमा वृद्धि भएको छ ।

तिहारको चहलपहलले बजारमा रौनकता ल्याए पनि फूल र पूजा सामग्रीको आकासिएको मूल्यले सामान्य उपभोक्ताको उत्साह भने घटाएको छ । फूल बारीदेखि बजारसम्म पुगेका किसान र व्यापारीहरू भने यसपटकको तिहारलाई ‘आर्थिक बम्पर’को रूपमा हेर्दै छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*