मकवानपुरगढीको शारदा माविमा तिहारको अवसरमा शुभकामना आदान प्रदान तथा अन्तरक्रिया
हेटौंडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ धादिङमा रहेको शारदा माध्यमिक बिद्यालयको आयोजनामा आज शुभ दिपावलीको अवसरमा शुभकामना आदान प्रदान, चियापान, बिद्यालयको स्वर्ण महोत्सव र देउसी भैलो कार्यक्रमका अवसरमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
कार्यक्रममा बिद्यालयका अभिभावक तथा पूर्व विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो । बिद्यालय व्यावस्थापन समितिका अध्यक्ष युवराज सापकोटाको अध्यक्षता तथा मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ का वडा अध्यक्ष दिपेश दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा बिद्यालयका प्रधानध्यापक इन्द्रबहादुर काकीले बिद्यालयको स्वण महोत्सवका अवसरमा ५२ वटा बिबिध कार्यक्रम गर्न लागिएको र त्यस कार्यक्रमलाई सफल बनाउन सबैको सहयोग आवस्यक रहेको बताउनुभयो ।
बिद्यालयले यही तिहारको अवसरमा कार्तिक ४ र ५ गते मकवानपुरगढीको धादिङ, सिमल्टार, ज्यामिरे, कालिवन, भालुखोला लगायतको स्थानमा देउसी, भैलो खेल्न लागेको र त्यस कार्यक्रममा सहभागिता जनाउनका लागि बिद्यालयका शिक्षक अभिभावकसंघका अध्यक्ष नवराज हुमागाईले आग्रह गर्नुभयो ।







