२४ भदौमा केपी ओलीलाई हवाई उद्धार गरेर हेटौंडाको सुपारीटार ब्यारेक राखेको नेपाली सेनाको खुलासा
हेटौंडा । प्रदर्शनकारीले २४ भदौमा सरकारी–निजी संरचनामा आगजनी र तोडफोड तीव्र बनाउँदै लगेपछि नेपाली सेनाले अतिविशिष्ट, विशिष्ट व्यक्ति र परिवारका सदस्यसहित ६१ जनालाई हवाई उद्धार गरेको खुलेको छ ।
प्रधानमन्त्रीबाट राजीनामा दिएका केपी शर्मा ओलीलाई २४ भदौमा हवाई उद्धार गरेर हेटौंडाको सुपारीटार ब्यारेक र निवर्तमान मन्त्रीलाई काठमाडौंकै भैरवनाथ गणमा राखिएको सेनाले जानकारी दिएको छ । हेटौंडामा मध्यपृतना हेडक्वाटर र अरु व्यारेकहरु पनि संगै रहेको अनी यहाँ नेपाली सेनाहरुको संख्या पनि धेरै रहेकाले सुरक्षित तरिकाले यहाँ राखिएको हो ।
जंगीअड्डाको युद्धकार्य निर्देशनालयका महानिर्देशक उपरथी अनुपजंग थापाका अनुसार विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ अनुसार विशिष्ट व्यक्तिहरूको सुरक्षा गरिएको हो । ‘कार्यविधिले विभिन्न अवस्थामा के गर्नुपर्छ भनेर स्पष्ट भनेको छ, भीभीआईपी व्यक्ति र तिनको नियुक्तिले बोकेको मुलुकसम्बन्धी ज्ञानलाई बचाउनुपर्छ भन्ने अन्तर्राष्ट्रिय मान्यता नै हो,’ उनले भने, ‘त्यो बचाउने क्रममा सम्बन्धित ठाउँमै घेरा साँघुरो बनाउँदै जोगाइएको हो ।’
कार्यविधिले अतिविशिष्टमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई राखेको छ । विशिष्टमा पूर्वराष्ट्रपति, उपप्रधानमन्त्री, सरकारका मन्त्री, पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्रीलगायत पर्छन् ।
उपरथी थापाका अनुसार सेनाले विषम परिस्थिति आउन सक्ने भन्दै पटक–पटक सरकारलाई जानकारी गराएको थियो । ‘यस्ता घटना विश्वव्यापी र छिमेकमा समेत आएको हुँदा नेपाली सेनाले यहाँका सम्बन्धित जिम्मेवार व्यक्तिहरूलाई समय समयमा खबर दिएको थियो,’ उनले भने, ‘तर, घटनाको शिर र तीव्रता सम्भवतः सबैको अनुमानभन्दा ठूलो र बढी भयो ।’
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पटक–पटक गरिएको ‘ब्रिफिङ’ लाई थापाले संकेत गरेको सैनिक अधिकारीहरू बताउँछन् । सेनाले साप्ताहिक रूपमा देशको सुरक्षा चुनौतीबारे सिधै प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’ गर्छ । ‘अशोक सिग्देल चिफ सा’बले दुईरतीन महिना पहिल्यैदेखि जनतामा एकदमै धेरै असन्तुष्टि छ, जुनसुकै बेला फरक रूपमा पोखिन सक्छ भन्दै आउनुभएको थियो,’ एक सैनिक अधिकारीले भने, ‘तर, सेनाको भनाइमा प्रधानमन्त्री कहिल्यै संवेदनशील हुनु भएन, बरु पछिल्लो पटक त सेनाको ब्रिफिङसमेत सुन्न छाड्नुभएको थियो ।’
सेनालाई ओलीले गम्भीरतापूर्वक नलिएको महसुस सैनिक अधिकारीहरूले गर्न थालेका थिए । त्यस्तोमा २३ भदौमा जेन–जीले गरेको प्रदर्शनमा संयमता अपनाउन नसक्दा परिस्थिति नियन्त्रण बाहिर गएको बुझाइ सैनिक अधिकारीहरूको छ ।
आन्दोलन नियन्त्रण बाहिर गएको भन्दै प्रधानसेनापति अशोकराज सिग्देलसहित चारै सुरक्षा निकायका प्रमुख २४ भदौको बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । तर, कठिन अवस्थामा समेत ओली सिक्किम भारतमा विलय भएको इतिहास सुनाउँदै बसेपछि प्रधानसेनापति सिग्देलसहित सुरक्षा अधिकारीहरूले छुट्टाछुट्टै छलफल गरेका थिए । सबैले ‘अहिले छाडे पछि फर्किने अवस्था रहन्छ, अन्यथा भन्न सकिन्न’ भन्ने निष्कर्ष सुनाएपछि ओलीको राजीनामा आएको थियो ।
राजीनामापछि ओलीलाई बालुवाटारबाट हेलिकोप्टरले उद्धार गरेर हेटौंडाको सुपारीटार ब्यारेक पुर्याएको थियो । उनीसँगै पत्नी राधिका शाक्य र स्वकीय सचिव राजेश वज्राचार्यलाई समेत हेलिकोप्टरमा ब्यारेक लगिएको थियो ।
सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल, एमाले उपाध्यक्ष शंकर पोखरेल, नेता विष्णु पौडेल, प्रदीप ज्ञवाली बालुवाटारमै रोकिएका थिए । ‘प्रधानमन्त्री निवासबाट सेनाको हेलिकोप्टरमार्फत बाहिरिने भनेपछि उहाँहरू त्यहाँ पुग्नुभएको थियो तर त्यो प्रधानमन्त्री र उहाँको परिवारका लागि भएको थियो,’ सुरक्षा स्रोतले भन्यो, ‘अरूलाई लिन फेरि आउने सैनिक अधिकारीले बताएका थिए तर केही क्षणमै बाहिरबाट प्रदर्शनकारी छिर्ने अवस्था बनिसकेको थियो ।’
बालुवाटाबारबाट सभामुख, राष्ट्रिय सभा अध्यक्षसहित नेताहरू प्रहरी र सेनाको एस्कटिङमा अर्को बाटोबाट प्रहरी हेडक्वार्टरतिर गएका थिए । ‘हेलिकोप्टर फेरि बस्न सक्ने स्थिति नभएपछि हामीले कुन रुटबाट जान सकिएला भनेर कन्फर्म गरेका थियौं,’ एक प्रहरी उच्च अधिकृतले भने, ‘त्यसपछि उहाँहरूलाई प्रदर्शनकारी कम भएको रुट हुँदै हेडक्वार्टर पुर्याएका थियौं ।’
राति २ बजे भने नेताहरू प्रहरी हेडक्वार्टरबाट विभिन्न ठाउँ जान थालेका थिए । ‘पछि सभामुख घिमिरे मात्र हेडक्वार्टरमा हुने स्थिति भयो । उहाँ पनि निवासमै गएर बस्नुभयो,’ ती अधिकृतले भने, ‘बिहान फेरि उहाँ हेडक्वार्टरमा आउनुभयो, अर्को दिनदेखि त स्थिति नियन्त्रणमा आइहाल्यो ।’
मन्त्रीहरूलाई ललितपुरको भैंसेपाटीस्थित क्वार्टरबाट उद्धार गरिएको थियो । ‘जनतामा आक्रोशको तह यति धेरै थियो कि उनीहरूले चलाएको एउटा चिज पनि बाँकी राखेनन्,’ एक सैनिक अधिकारीले भने, ‘त्यो परिस्थिति मूल्यांकन गरेर अधिकांश मन्त्री र तिनका परिवारलाई भैरवनाथ गणमा राखेका थियौं ।’
भैरवनाथ गणको गेटमा समेत प्रदर्शनकारीको समूह पुगेको थियो । त्यहाँ कोही नभएको भन्दै सम्झाएर उनीहरूलाई सेनाले फर्काइदिएको थियो । ‘त्यहाँ जबर्जस्ती गरिएको भए बल प्रयोग गर्न अधिकारीहरूलाई निर्देशन दिइएको थियो,’ ती सैनिक अधिकारीले भने, ‘बल प्रयोग नगर्ने नै नीति हो तर सुरक्षा कार्यविधिअन्तर्गत काम गरिरहँदा कठिनाइ हुने अवस्था भए चुप बस्न मिल्थेन ।’
विभिन्न प्रदेशमा रहेका मुख्यमन्त्री र मन्त्रीहरू भने सम्बन्धित ठाउँकै पृतनामा बसेका थिए । ‘विशिष्ट व्यक्तिको ज्यान पहिले जोगाउनुपर्छ भन्ने नीतिअनुसार सबैतिर सुरक्षा दिन निर्देशन दिइएको थियो,’ ती सैनिक अधिकारीले भने ।
एक सैनिक अधिकारीका अनुसार माओवादी अध्यक्ष पुष्पकमल दाहाल भने बिहानैदेखि प्रधानसेनापति सिग्देललाई सम्पर्क गरिरहेका थिए । उनले पहिले संसद्मा पनि बंगलादेश र श्रीलंकाको जस्तो परिस्थिति आउन सक्ने चेतावनी दिएका थिए । ‘त्यो परिस्थिति आकलन गरेर पनि हुन सक्छ, उहाँ बिहानैदेखि सेनासँग निरन्तर सम्पर्कमा हुनुहुन्थ्यो,’ एक उच्च सैनिक अधिकारीले भने, ‘बिहान विपक्षी दलको बैठक डाकेर उहाँ सिंहदरबार पुगेका बेला परिस्थिति बिग्रिइसकेको थियो, सिंहदरबारभित्रकै सैनिक ब्यारेकमा सुरक्षित बस्न भनेका थियौं ।’
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सिंहदरबारभित्रै बसेका थिए । ‘सिंहदरबारको छेउको सैनिक ब्यारेकमा पुगेर आफू भूपू रक्षामन्त्रीसमेत रहेको बताएपछि मलाई नरसिंह दलभित्र जान दिइयो,’ नेपालले एउटा लेखमा भनेका छन्, ‘प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीश सपना मल्ल प्रधानसहितलाई पनि यही ब्यारेकमा ल्याइएको थियो ।’ त्यस बेला स्वकीय सचिव लक्ष्मण अर्याल, नेता मेटमणि चौधरी र नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र रायसमेत आफूसँगै रहेको उनले उल्लेख गरेका छन् ।
सैनिक अधिकारीहरूका अनुसार कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग बिहान करिब ११ बजे सम्पर्क गरिएको थियो । ‘प्रचण्ड सेनाको सुरक्षा घेरामा पुगिसकेका थिए, ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिइसक्नुभएको थिएन,’ एक सैनिक अधिकारीले भने, ‘त्यस्तोमा बालुवाटारमा ओलीसँग बैठक बस्नुअघि नै अरूलाई उद्धार गर्न युद्धकार्य निर्देशनालयलाई निर्देशन दिइसकिएको थियो ।’
विशिष्ट व्यक्तिको सुरक्षा गर्नु जिम्मेवारी भएकाले देउवालाई समेत सुरक्षा चुनौती बढेको सन्देश दिइएको तर उनले गम्भीरतापूर्वक नलिएको सैनिक अधिकारीहरू बताउँछन् । तर देउवाले ‘मलाई चुनौती छैन, यहाँका जनता मेरो साथमै छन्’ भन्ने प्रतिक्रिया दिएका थिए । ‘उहाँ बाहिरको अवस्थासँग जानकार नै नभएको जस्तो बुझिन्थ्यो,’ स्रोतले भन्यो ।
देउवा पत्नी एवं तत्कालीन परराष्ट्रमन्त्री आरजु राणाले चाहिँ उद्धारका लागि सकारात्मक सन्देश दिएको तर देउवाले नै रोकेपछि टोली अरूतिर लागेको सैनिक अधिकारीहरूको भनाइ छ । जतिबेला उनीहरूले उद्धारका लागि सहयोग माग्दै तारन्तार फोन गर्न थाले, त्यस बेला धेरै ढिला भइसकेको थियो । उग्र प्रदर्शनकारीको भीड उनीहरूको घरमा प्रवेश गर्न थालिसकेपछि प्रहरीको थप टोलीसमेत जान सक्ने स्थिति थिएन ।
देउवा दम्पती आफ्नै निवासमा प्रदर्शनकारीको कुटपिटमा परे । ‘प्रदर्शनकारी घरभित्र प्रवेश गर्न लागे भन्ने सूचना पाउनेबित्तिकै सेनाको हेलिकोप्टर पठाएका थियौं,’ एक अधिकारीले भने, ‘तर प्रदर्शनकारी यति आक्रामक थिए कि ल्यान्ड गर्नै धेरै गाह्रो भयो ।’ पछि देउवा दम्पतीलाई उद्धार गरेर सैनिक अस्पताल छाउनीमा राखिएको थियो । त्यसपछि चिकित्सकहरूको निगरानी रहने गरी काठमाडौंकै ब्यारेकमा उनीहरूलाई राखिएको थियो ।
राष्ट्रपति रामचन्द्र पौडेललाई २४ भदौको राति नारायणहिटीस्थित विशिष्ट व्यक्ति सुरक्षा निर्देशनालयको कार्यालयमा राखिएको थियो । एक दिनपछि उनी शीतलनिवास पछाडिको भवनमा फर्किएका थिए । ‘बालुवाटार र शीतल निवासको पछाडिपट्टिको इलाका इन्ट्याक्ट छ, विशिष्ट व्यक्तिलाई बचाउनुपर्ने भएपछि घेरा साँघुरो बनाउँदै सुरक्षित ठाउँमा राखिएको थियो,’ शुक्रबार उपरथी थापाले भने ।






