निर्वाचनबाट भाग्न खोज्दै सरकार, मुलुक संकटतर्फ धकेलिँदैछ– बतौला
हेटौंडा। मकवानपुर क्षेत्र नम्बर २ का निबर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका नेता महेश कुमार बतौलाले वर्तमान सरकारले निर्वाचन गराउने कुनै चाहना नराखेको आरोप लगाएका छन् । उनले लोकतान्त्रिक पार्टी नेकपा एमाले सधैं जनवादको कार्यनीतिलाई आत्मसात् गर्दै जनताद्वारा परिक्षित हुने मार्गमा अघि बढ्ने बताउँदै निर्वाचनबाट कहिल्यै पिठ्यु फर्काउने काम नगर्ने स्पष्ट पारे ।
बतौलाका अनुसार आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन सम्पन्न गराउने कार्यादेश दिइए पनि असंवैधानिक ढङ्गले बनेको वर्तमान सरकारले त्यसतर्फ गम्भीर प्रतिबद्धता नदेखाएको छ । “सरकारको सुरुवाती व्यवहार र हालका गतिविधीले नै निर्वाचन नगर्ने चाहना प्रष्ट भएको छ,” उनले भने, “मुलुकमा डर, त्रास र आतङ्क फैलाएर सत्तामा रहिरहन चाहने नियत देखिएको छ ।”
उनले राजनीतिक दलहरूसँग संवाद र सहकार्यको सट्टा निषेध र प्रतिशोधको नीति अपनाउँदै सरकार अघि बढिरहेको आरोपसमेत लगाए । बतौलाले भने, “यदि घोषित मितिमा निर्वाचन नहुने र जनप्रतिनिधिमुलक सर्वोच्च संस्था संसद् पनि विहीन हुने अवस्था आयो भने देश अर्को भयानक संकट र दुर्घटनातर्फ धकेलिनेछ ।”
सांसद बतौलाले अहिलेको चुनौतीपूर्ण परिस्थितिबाट मुलुकलाई जोगाउन सबै लोकतान्त्रिक, देशभक्त र राष्ट्रवादी शक्तिहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकता औंल्याए । उनका अनुसार मुलुकमा देखिएको अस्थिरता अन्त्य गर्न बिघटित संसदको पुनर्स्थापना, सर्वदलीय राष्ट्रिय सरकार गठन, संविधान संशोधन र ताजा जनादेशमार्फत स्थायित्व र शान्तिको बाटो रोज्न जरुरी छ ।
उनले जेन–जी पुस्ताको भावना, आकांक्षा र चाहनालाई सम्बोधन गर्दै देशलाई स्थिरता, स्थायित्व र दिगो शान्तितर्फ लैजान राजनीतिक दलहरूले साझा जिम्मेवारीपूर्वक कदम चाल्नुपर्ने निष्कर्षसमेत निकाले ।






