मकवानपुरमा सवारी दुर्घटनामा १६ जना घाइते

जनपत्र
२१ आश्विन २०८२, मंगलवार १०:३८

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका–४ हरामीचोक नजिक मदन भण्डारी लोकमार्गमा आज बिहान सवारी दुर्घटना हुँदा १६ जना घाइते भएका छन्।

मकवानपुर प्रहरीले दिएको जानकारी अनुसार बिहान करिब ६ः४५ बजेतिर सिन्धुलीबाट हेटौंडातर्फ आउँदै गरेको म प्र ०२–००१ ज ००७२ नम्बरको इभी गाडीले भित्रि बाटोबाट हाईवेमा निस्कँदै गरेको ना ५ प ५५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

ठक्करपछि इभी गाडी अनियन्त्रित भई करिब १५ फिट तल खोल्सामा खस्दा सवार १६ जना व्यक्ति घाइते भएका हुन्।

घटनापछि तत्काल प्रहरी टोली घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरी उपचारका लागि साम्भि पोलिक्लिनिक र सहकारी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रारम्भिक जानकारी अनुसार घाइतेहरूमध्ये अधिकांशको अवस्था सामान्य रहेको बताइए पनि एक जना मिक्शा पौडेललाई थप उपचारका लागि काठमाडौँ लगिएको प्रहरीले जनाएको छ। दुर्घटनाको विस्तृत कारणबारे अनुसन्धान भइरहेको र दुबै सवारीसाधन नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*