गतवर्ष मकवानपुरको कुलेखानी जलाशय भरिएर ड्यामको ढोका खोलियो, यो वर्ष पानीको सतह पिँधमै

जनपत्र
१२ आश्विन २०८२, आईतवार १२:१४

हेटौंडा । गतवर्ष एक्कासी कुलेखानी भरिएर जलाशयको ढोका खोलिएको आजैको दिन अर्थात् असोज १२ गते अहिले कुलेखानी जलाशयको सतह पिँधमा छ । गतवर्ष असोज १२ गते कुलेखानी भरिएर जलाशयको ढोका खोल्दा तल्लो तटीय क्षेत्रको सडक र दुई दर्जन भन्दा बढी घर बगाएको थियो ।

तर अहिले कुलेखानी जलाशय भरिन अझै २६ मिटर बाँकी छ । यो वर्ष कुलेखानी जलाशय भरिने सम्भावना एकदम न्यून हुँदै गएको छ । मनसुनको समय सकिन लागिसक्दा पनि कुलेखानी जलाशयको पानीको सतह बढ्न सकेको छैन । असोज महिनाको दोस्रो साता बित्न लागिसक्दा पनि कुलेखानी जलाशयमा करिब २० मिटरमात्र पानीको सतह बढेको छ ।

सुख्यायाममा कुलेखानी जलाशयको पानीको सतह १ हजार ४ सय ८५ मिटरसम्म झरेको थियो । वर्षायाम सुरु भएपछि कुलेखानी जलाशय ईन्द्रसरोवरमा आइतबार बिहान ९ बजेसम्म १ हजार ५ सय ४ दशमलव २१ सेन्टिमिटरमात्र पानी संकलन भएको छ ।

कुलेखानी भरिन करिब अझै २६ मिटर बाँकी छ । कुलेखानी जलाशयमा एक हजार ५ सय ३० मिटर पानी अट्ने क्षमता छ । ‘अहिलेको वर्षायाममा जलाधार क्षेत्रमा पानी नै परेको छैन,’ कुलेखानी जलविद्युत आयोजना प्रथमका प्रमुख तारादत्त भट्टले भने, ‘असोज महिनाको पहिलो दोस्रो साता बित्न लागिसक्यो बितिसक्यो, मौसमको छाँटकाट हेर्दा यो वर्ष कुलेखानी जलाशय भरिन मुस्किलै छ, नर्मल पानी परेर यो वर्ष कुलेखानी भरिँदैन, जलाधार क्षेत्रमा आरीघोप्टे वर्षा भएमात्र जलाशय भरिन्छ ।’

कुलेखानी जलविद्युत् आयोजनाका अनुसार गत वर्ष साउन, भदौ र असोजमा जलाशयमा दैनिक ५० देखि ७५ सेन्टिमिटरसम्म पानीको सतह बढ्थ्यो, अहिले मुस्किलले २० सेन्टिमिटर पनि बढ्दैन । गत वर्षको असोज ११ गते एकै दिन ५ मिटर पानी सतह बढेको थियो ।

अहिले कुलेखानी जलविद्युत् आयोजना ‘सटडाउन’गरिएको छ । कुलेखानी जलाशयमा पानीको सतह नबढेकाले सुख्यायाममा विद्युत्‌को उत्पादनमा समस्या आउनेमात्र होइन, मार्खु र चित्लाङमा आएका आन्तरिक एवं बाह्य पर्यटकहरु पनि निराश भएर फर्कने गरेका छन् ।

कुलेखानी जलाशयको पानीले ढाक्ने मार्खु र सिम्लाङ क्षेत्रका जमिनहरुमा अहिले हरिया घाँस मौलाएका छन् । ‘गतवर्षको असोज १० र ११ गते जसरी जलाधार क्षेत्रमा वर्षा भएको थियो ,त्यसरी वर्षा भएमात्र कुलेखानी जलशाय भरिन सक्छ नत्र अहिले परेको पानीले जलाशय भरिँदैन’ कुलेखानी जलविद्युत् आयोजनाका एक वरिष्ठ प्राविधिकले भने । कान्तिपुरबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*