हेटौंडका सरकारी कार्यालयबाट लुटिएको २ ट्रक सामानसहित २ जना पक्राउ

जनपत्र
२८ भाद्र २०८२, शनिबार १७:३६

हेटौँडा — जेनजीको आन्दोलनको क्रममा भदौ २४ गते भएको आगजनीसँगै लुटिएका सामान र संलग्न व्यक्तिहरूलाई मकवानपुर प्रहरीले पक्राउ गर्न थालेको छ।

हेटौँडा उपमहानगरपालिका–४ कर्राबाट लुटपाट गरिएको सामानसहित २ जनालाई पक्राउ गरिएको छ। स्थानीयवासीको सहयोगमा वडा प्रहरी कार्यालय सानो पोखरा हेटौँडाले कर्राबाट बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको हेटौँडा उपमहानगरपालिका–१० स्थित मन्त्रालयबाट लुटपाट गरिएको दराज, टेबल, कुर्सी, कम्प्युटरलगायतका सामानसहित २ ट्रक सामग्री बरामद गरेको हो।

प्रहरीले बरामद सामानसहित सुनसरी घर भई हाल हेटौँडा–४ मा बसोबास गर्ने २४ वर्षीय गणेश साह र २१ वर्षीय आर्य देउलालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता श्यामु अर्यालले बताए।

स्थानीयका अनुसार घटना भएको दिन २४ गते राति ट्रकमा लोड गरेर उक्त स्थानमा सामान लुकाइएको जनाएका छन्। मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक अर्यालले लुटपाटको घटनामा संलग्न कसैलाई पनि नछोड्ने बताए। स्थानीयवासीहरूले लुटपाटमा संलग्न व्यक्तिको निगरानी गरिएको र लुटिएका सामान प्रहरीलाई बुझाइएको बताएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*