मकवानपुरमा राँगोले अटोलाई ठक्कर दिदा ५ वर्षीय बालक घाइते
मकवानपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका–६ लोथर बजारमा रांगोले अटोलाई ठक्कर दिँदा अटोमा सवार एक बालक घाइते भएका छन्।
शनिबार बेलुकी करिब ७ बजेतिर लोथरबाट मनहरीतर्फ आउँदै गरेको बा प्र ०३–००१ ह १५६० नम्बरको अटोलाई बाटो काट्ने क्रममा रांगो ठक्कर दिएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ।
रांगो स्थानीय ४० वर्षीय निरज कुँवरको गोठमा बाधी राखिएकोमा गोठबाट फुत्किएर अटोलाई ठक्कर दिएको बताइएको छ। ठक्करपछि अटो पल्टिँदा अटोमा सवार मनहरी गाउँपालिका–७ बिजौना निवासी लक्ष्मी मोक्तानको पाँच वर्षीय छोरा आशिष मोक्तान घाइते भएका हुन्।
घाइते बालकलाई प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि मनहरी अस्पताल पुर्याएको थियो। सामान्य उपचारपछि थप उपचारका लागि नयाँ मेडिकल कलेज, चितवन पठाइएको र उनको निधार र वायाँ काँधमा भित्री चोट लागेको, अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घाइतेको उपचारमा उनकी आमा संलग्न रहेकी छिन्।






