बागमती सरकारले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनको लागि काम गर्ने
हेटौंडा । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले संघीय राजधानी समेत रहेको काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनको लागि, मन्त्रालयले अल्पकालीन र दीर्घकालीन योजना बनाई कार्यान्वयनमा ल्याउने वताउनु भएको छ । मन्त्रालयले उपत्यका र उपत्यका भन्दा बाहिर सञ्चालन हुने सार्वजनिक सवारीहरूको मार्ग इजाजत पत्र ९रूट पर्मिट० लाई थप व्यवस्थित बनाई विद्युतीय प्रणाली मार्फत इजाजत पत्र जारी गर्ने व्यवस्था मन्त्रालयले मिलाएको मन्त्री थापाले बताउनु भयो ।
उपत्यकाका व्यस्त सडकहरूमा ट्राफिक व्यवस्थापनको लागि खटिने ट्राफिक प्रहरीहरूको लागि आवश्यकपर्ने उपकरण तथा सामाग्रीहरू उपलब्ध गराउने व्यवस्था श्रम, रोजगार तथा यातायात मन्त्रालयले गर्ने तयारी रहेको मन्त्रालयले जनाएको छ ।
बैठकमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक नवराज अधिकारीले काठमाडौं उपत्यका ट्राफिक व्यवस्थापनको विविध पक्षहरू र वर्तमान अवस्थाका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँकोे अध्यक्षतामा बसेको काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन सम्बन्धी बैठक तथा छलफलमा श्रम, रोजगार तथा यातायात मन्त्रालयले सम्बन्धित जिल्लाको यातायात कार्यालय र ट्राफिक प्रहरी कार्यालयको समन्वयमा सवारी चालक अनुमति पत्र जारी गर्नु अघिपछि अनुमति पत्र वाहकलाई ट्राफिक नियमसम्बन्धी अभिमुखीकरण कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउने, काठमाडौँ उपत्यकामा आवश्यकता अनुसार ट्राफिक लाइटको व्यवस्था गर्नुका साथै ट्राफिक लाइटलाई व्यवस्थित गर्न स्थानीय तहसँग समन्वय गरी जडित लाइटहरूको नियन्त्रण र सञ्चालन ट्राफिक प्रहरीले गर्ने व्यवस्था मिलाउने र श्रम, रोजगार तथा यातायात मन्त्रालयले ट्राफिक प्रहरीसँग समन्वय गरी सुरक्षित ढङ्गले सवारी साधन सञ्चालन तथा ट्राफिक नियम र सावधानी सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ ।
बैठकमा श्रम, रोजगार तथा यातायात मन्त्रालयले यातायात व्यवस्थापनका विविध क्षेत्रमा देखिएका समस्या र समाधानका उपायहरू सम्बन्धमा छलफल गर्न यातायात व्यवस्था कार्यालय, ट्राफिक प्रहरी, यातायात व्यवसायी र तिनका प्रतिनिधि लगायत सरोकारवाला निकायहरूसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउने निर्णय भएको छ ।
मुख्यमन्त्री कार्यालयमा भएको बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारी, मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बुद्ध लामा, मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव भुपाल बराल, सम्बन्धित मन्त्रालयका सचिवद्वय कृष्णबहादुर शाही र बलराम ढकाललगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।






