पत्रकार महासंघ मकवानपुरले स्थापना गर्यो सुत्केरी प्रवर्द्धन कोष

जनपत्र
५ भाद्र २०८२, बिहीबार १९:०८

हेटौँडा । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले महिला पत्रकार प्रजनन स्वास्थ्य तथा सुरक्षित सुत्केरी प्रवर्द्धन कोषको बिहीबार औपचारिक रूपमा शुभारम्भ गरेको छ ।

महिला पत्रकारहरूको प्रजनन स्वास्थ्य उपचार र सुरक्षित सुत्केरी प्रवर्द्धनका लागि सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको कोषको हेटौंडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा शुभारम्भ गरिएको हो । कोषका लागि उपमहानगरपालिकाले ५ लाख रुपैयाँ अनुदान व्यवस्था गरेसँगै कोषको शुभारम्भ गरिएको हो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख लामाले महिला पत्रकारहरूको प्रजनन स्वास्थ्य र सुरक्षित सुत्केरीका लागि महासंघले यस्तो कोष स्थापना गर्नु प्रशंसनीय भएको बताइन् ।

उनले उपमहानगर महिलाको विषयमा निकै संवेदनशील रहेको उल्लेख गर्दै यो कोषले महिला पत्रकारहरूको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिन् । उनले कार्यक्रमकैबीच कोषमा व्यक्तिगत रुपमासमेत १० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरिन् ।

कार्यक्रममा बोल्दै उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले महिला पत्रकारहरूका लागि यो कोष सञ्चालन गर्नु ऐतिहासिक कदम भएको धारणा राखे । राज्यले महिलालाई प्राथमिकतामा राखेर काम गरिरहेको सन्दर्भलाई जोड्दै उनले उपमहानगरपालिका पत्रकारका सबै खालको हितमा सहयोग गर्न सधैं तयार रहेको बताए । उपप्रमुख बानियाँले पनि व्यक्तिगत तर्फबाट कोषमा १० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरे ।

त्यसैगरी, महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी र ब्रोडकस्टिङ एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष उज्ज्वल चौलागाईंले पनि कोषमा १०/१० हजार रुपैयाँ सहयोगको घोषणा गरे । कार्यक्रममा वरिष्ठ पत्रकार प्रताप विष्ट र पत्रकार महासंघ बागमती प्रदेशका निवर्तमान उपाध्यक्ष सम्झना कार्कीले २/२ हजार रुपैयाँ सहयोग गरे । यसका साथै महासंघ मकवानपुर शाखाको कार्यसमितिबाट ११ हजार संकलन गरी कोषमा राखिएको छ ।

कोषले मकवानपुरका महिला पत्रकारहरूको प्रजनन स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण टेवा पु¥याउने अपेक्षा गरिएको छ । कार्यक्रममा स्वास्थ्यकर्मी महासंघ मकवानपुरको तर्फबाट पत्रकार महासंघका लागि स्यानीटरी प्याड, सुत्केरी महिला पत्रकारका लागि खाद्य सामग्री प्रदान गरिएको थियो । सहयोगी मन नेपालले पनि महासंघलाई ब्लड प्रेस नाप्ने उपकरण सहयोग गर्नुका साथै प्रत्यक सुत्केरी पत्रकारलाई ५ लिटर तेल सहयोग गर्ने घोषणा गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*