फ्लप फिल्म ‘छड्के’ को सिक्वेल बन्ने
सिक्वेल कस्तो फिल्मको बन्छ रु सबैको जवाफ एउटै आउनसक्छ, ‘जुन फिल्मले बक्सअफिसमा नाफाको व्यापार गरेका छन् ।’ विश्वमै हेर्ने हो भने ब्लकबस्टर फिल्मको मात्र सिक्वेल बनेका छन् । सम्भवतः निर्माता डुबाएका फिल्मको दोस्रो पार्ट बनेका छैनन् । तर, नेपालीमा उखान छ नी, ‘काहिँ नभएको जात्रा हाँडिगाउँ ।’ विदेशमा हिट फिल्मको सिक्वेल बन्छ । नेपालमा भने फ्लप फिल्मको पनि धमाधम सिक्वेल बन्न थालेका छन् ।
गएको दुई वर्ष अगाडि प्रदर्शनमा आएको अभिनेता द्वय दयाहाङ राई र सौगात मल्ल अभिनीत फ्लप फिल्म ‘लप्पन छप्पन’ को अहिले दोस्रो पार्ट निर्माण भइरहेको छ । यस्तै, अब अर्को फ्लप फिल्मको सिक्वेल बन्ने भएको छ । फिल्म हो, ‘छड्के’ । यो फिल्म करीब ६ वर्ष अगाडि प्रदर्शनमा आएको थियो । दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की, नम्रता श्रेष्ठलगायतका कलाकारहरुको फिल्ममा अभिनय थियो । निर्देशक थिए, निगम श्रेष्ठ ।
घटस्थापनाको शुभ अवसारमा निर्माण टिमले ‘छड्के’ को सिक्वेल ‘छड्के २’ घोषणा गर्यो । निगम श्रेष्ठ स्वयंले निर्देशन गर्ने फिल्मलाई नेगेटिभ बुद्ध र रस ताण्डवले मिलेर निर्माण गर्नेछन् । तिहारपछि छायांकन सुरु हुने फिल्मको प्रदर्शन मिति समेत घोषणा गरिएको छ । फिल्म अर्को वर्षको दशैंमा प्रदर्शनमा आउने निर्देशक श्रेष्ठले बताए । २०७७ को दशैंमा ‘अल्लारे २’, ‘एन्टी हिरो’, ‘ए मेरो हजुर ४’, ‘आई एम ट्वान्टिवान’ पनि प्रदर्शनमा आउने तयारीमा छन् ।







