हेटौंडामा विश्व अल्जाइमर सचेतना दिवस मनाइयो
हेटौंडा । ‘विश्वभरका ज्येष्ठ नागरिकको हेरचाह र सहयोगको सुदृढीकरण, भन्ने नाराका साथ विश्व अल्जाइमर दिवस २०८१ को विश्वव्यापी रुपमा मनाईको छ । डिमेन्सियामा काम गर्नु नै अल्जाइमर विरुद्धको कार्य हो ।
यही दिवसका दिन ज्येष्ठ नागरिक जिल्ला संघ मकवानपुरले पत्रकार सम्मेलन गर्दै अल्जाइमर रोगसम्बन्धी सचेतनाका लागि सबैमा आग्रह गरेको छ । संघका जिल्ला अध्यक्ष, हरि प्रसाद सिग्देल, समितिका पदाधिकारी तथा सदस्यहरुले आज पत्रकार सम्मेलनमा बृद्धावस्थामा मानसिक अवस्थामा सूक्ष्म रूपले बिस्तारै विभिन्न कमजोरीहरू देखिने र क्रमशः पूरै विस्मृतिमा पुर्र्याउने एक विश्वव्यापी रोग रहेको बताएका छन् । अंग्रेजीमा डिमेन्सिया भनिने, बिर्सिने रोगभित्र पर्ने एउटा फरक विशेषताको रोगको रुपमा यसलाई लिने गरिएको छ ।
बीटा एमालाइड नामक असामान्य, अघुलनशील प्रोटिन मस्तिष्कमा जम्मा भएर मस्तिष्कका तन्तु र कोशिकाहरू नष्ट हुनाले उत्पन्न हुने रोग हो । न्यूरो फ्राइबिलरी नामक रेसादार झुप्पा जेलिएर मस्तिष्को कार्यमा अवरोध हुनाले उत्पन्न हुने रोग पनि हो । बढ्दो उमेरसँगै मानिसको सोच्ने, सम्झिने, निर्णय लिने तथा सिक्ने क्षमतामा बिस्तारै कमी देखिँदै पूरै कुरा बिर्सिने, केही नचिन्ने, कोही नचिन्ने र केही गर्नै नसक्ने अवस्थामा पुर्र्याएर मृत्यु गराउने रोग डिमेन्सियाकै विकसित रूप अल्जाइमरलाई लिइन्छ ।
व्यक्तित्वमा अस्वाभाविक परिवर्तन, भाषा प्रयोगमा गढबढी र दिग्भ्रम गराउने रोग हो र वंशानुगत रूपमा माथिल्लो पुस्ताको असामान्य जीनको आकस्मिक प्रसारणका कारण उत्पन्न हुने मानिएको र हालसम्म कुनै औषधी पत्ता नलागेको गम्भीर किसिमको रोगका रुपमा लिइने अध्यक्ष सिग्देलले जानकारी दिनुभयो ।
रोगको नामाकरण र नामको प्रयोगः
आजभन्दा करिब ११८ वर्षअघि जर्मन नागरिक एलोइस अल्जाइमू भन्ने न्यूरो प्याथोलोजिस्टले सनः १९०६ मा आफ्ना लेखमार्फत आफूले पत्ता लगाएका बिर्सिने रोगबारेमा जानकारी गराएकाले सनः १९१० जुलाइ १५ मा उनै व्यक्तिको नामबाट अल्जाइमर रोगको नामाकरण भएको रोग हो ।
सन १९९४ मा स्कटल्याण्डको एडिनबरा सहरबाट अल्जाइमर्स डिजिज इन्टरनेशनलू नामक संस्थाले २१ सेप्टेम्बरका दिन अल्जाइमर दिवस मनाउन सुरुवात गरेको छ । नेपालमा सन २००८ बाट तत्कालीन राष्ट्रिय ज्येष्ठ नागरिक संस्था,सञ्जाल, राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ र नेपाल सरकारले संयुक्त रूपमा यो दिवस मनाउँदै आएको छ।






