विदेश जान लागेको छोरालाई बिदाइ गरेर फर्किएकी मकवानपुरकी नानुमायालाई खोलाले बगायो

जनपत्र
१७ भाद्र २०८१, सोमबार ०७:२५

मकवानपुर/ मकवानपुरमा खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छिन्। जिल्लाको बकैया गाउँपालिका–६ की ३६ वर्षीया नानुमाया तितुङलाई आज बकैया खोलाले बगाएको हो।

निजगढबाट बकैया फर्कने क्रममा खोलाले बगाएर नानुमाया बेपत्ता भएको बकैया–६ का वडाध्यक्ष फूलमान भोम्जनले जानकारी दिए।

भोम्जनका अनुसार, खोला तर्नेक्रममा उनलाई बगाएको तराई-मधेस फास्ट ट्रयाकमा काम गर्ने मानिसहरूले देखेका थिए।

नानुमायाका छोरा छिरिङ तितुङ वैदेशिक रोजगारीका लागि विदेश जान लागेका थिए। शनिबार (हिजो) श्रीमान् र छोराको साथमा गाडि चढेर उनी निजगढ गएकी थिइन्।

श्रीमान् राजकुमार तितुङ र छोरासँगै शनिबार निजगढमै बास बसेका थिए। आफन्तको बास बसेका उनीहरूले आइतबार आ–आफ्नो गन्तव्यतर्फ लाग्ने सोच बनाए।

सोही अनुसार आज बिहानै नानुमायाले छोरालाई बिदाइ गरिन्। राजकुमार भने प्लेन चढाउनका लागि छोरोसँगै काठमाडौँ जाने तयारीमा जुटे।

नानुमाया हिँडेरै घर फर्किइन्। लामो बाटो छिचोलेर गाउँ आइपुग्नै लागेकी उनलाई बकैया खोलाले बगायो।

‘बिहानैदेखि परेको अविरल बर्षाका कारण बकैया खोलाको बेग निकै ठूुलो थियो,’ वडाध्यक्ष भोम्जनले भने, ‘खोला तर्ने क्रममा बगाएछ। फास्ट ट्रयाकमा काम गर्ने मानिसहरूले देखेका रहेछन्। बचाउन खोजेछन् तर सफल भएनन्।’

उता, राजकुमार पनि छोरो लिएर काठमाडौँ जान नभ्याउँदै कुकुरको टोकाईबाट घाइते भएका छन्। बिहान सबेरै कुकुरले टोकेपछि निजगढमै अल्मलिएका राजकुमारले श्रीमतीलाई खोलाले बगाएको खबर पाएका पाए।

छोरो छिरिङ वैदेशिक रोजगारीका लागि साउदी अरब जान लागेका थिए।

सोमबार अर्थात् भोलिको फ्लाइटमा साउदी जान हिँडेका छिरिङ आमालाई बगाएको खबरले गाउँमै फर्कँदै गरेको वडाध्यक्ष भोम्जनले जानकारी दिए। घटनास्थलमा यतिबेला सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरी लगायतको टोलीले खोजी गरिरहेको छ। खोलाको बहावका कारण खोजी कार्यमै सकस भइरहेको प्रहरीले बताएको छ। नेपाल खवरबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*