बागमतीका मुख्य न्यायाधिवक्ता काफ्लेद्वारा शपथ ग्रहण
मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता शुकदेव काफ्लेले शपथ लिएका छन् । न्यायाधिवक्ता काफ्लेले बिहीबार एक कार्यक्रमबीच पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
उनलाई पाटन उच्च अदालत ललितपुरका मुख्य न्यायाधिश निरपधोज निरौलाले शपथ ग्रहण गराएका हुन् ।
शपथ ग्रहण कार्यक्रममा बागमतीका प्रदेश प्रमुख दिपक प्रसाद देवकोटा, मुख्यमन्त्री बहादुर सिं लामा, मन्त्रीहरु र न्यायिक सेवाका उच्च अधिकृतहरुको उपस्थिति रहेको थियो ।
निवर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारले नियुक्त गरेको मुख्य न्यायाधिवक्ता फरिन्द्र नेपालले राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो ।
रिक्त रहेको उक्त पदमा प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले भदौ २ गते नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम मुख्यमन्त्री लामाको सिफारिसमा काफ्लेलाई नियुक्त गरेका थिए ।






