मकवानपुरका गाउँघरमा लोपोन्मुख हुँदैछ जनै बनाउने सीप, हेटौंडामा जनैको कारोबार बढ्यो

जनपत्र
३ भाद्र २०८१, सोमबार ०८:०९

हेटौंडा । पछिल्लो समय मकवानपुर जिल्लाको गाउँघरमा जनै बनाउने प्रचलन हराउँदै गएको छ । पहिे गाउँघरमा आफैले बनाएको जनै जनै पूर्णिमाको दिनमा ब्रामणकहाँ गएर मन्त्रिएर लगाउने चलन भएपनि अहिले भने यो चलन निकै घट्दै गएको छ । युवापुस्ताले जनै बनाउन चासो नदिँदा तथा सुलभ मूल्यमा बजारमा किन्न पाइँदा जनै बनाउनेक्रम हराउँदै गएको मकवानपुरगढी ५ का बृद्ध श्याम सापकोटाले तबाए ।

नयाँ जनै फेर्नुपर्ने हिन्दू संस्कारमा रहिआएको मान्यताअनुसार जनैपूर्णिमाका लागि जनैको कारोबार पनि हेटौंडामा हिजो र आज धेरै हुने गरेको पाइन्छ । जनैपूर्णमाको अवसरमा हेटौंडाका बिभीन्न पसलबाट जनैको कारोबार धेरैनै भएको हो ।

“अधिकांश युवा वैदेशिक रोजगारीमा गएकाले पनि जनै बनाउने सीप नहुँदा हिजोआज यो क्रम हराउँदै गएको पाइन्छ”, उनले भने, “सहजता र आधुनिकताले पनि धेरै परम्परा र मौलिक सीप लोप हुँदै गएका छन् ।”
केही वर्ष अगाडिसम्म जनै बनाएर आफन्तलाई पनि दिने गरेको भए तापनि पछिल्लो समय बजारबाट खरिद गरी प्रयोग गर्ने गरेको हेटौंडा–१८ का राम तिमल्सीना बताउँछन् । “पछिल्लो समय युवाले नियमित जनै लगाउनै छाडे”, उनले भने, “अहिलेका छोरानातिले जनै लगाएर के हुन्छ भनेर उल्टै आफ्नो रीतिरिवाज भुल्न थालेका छन् । यो चिन्ताको विषय हो ।”

गाउँमा अहिले जनै बाट्नै छाडिसकेको बुढापाकाहरु बताउँछन् । जनैपूर्णिमाका लागि बजारबाट मेसिनले बाटेको जनै खरिद गरेर ल्याउने गरिएको छ । बजारमा विदेशबाट आयातित र विभिन्न मेसिन तथा उपकरण प्रयोगबाट बनाइएका जनै फरक–फरक मूल्यमा उपलब्ध हुने गरेका छन् ।

विगत वर्षहरूमा गाउँघरमा ब्राह्मण तथा क्षेत्री समुदायका व्यक्तिहरूले एक महिना अघिदेखि नै जनै बाट्न सुरु गर्ने गरेको र त्यो नै उत्कृष्ट जनै रहने गरेको पण्डितहरु बताउँछन् । जनैपूर्णिमा (रक्षाबन्धन) का दिन इष्टमित्रसँग जनै लगाउने र रक्षाबन्धन बाँध्नाले शत्रुबाट रक्षा हुने जनविश्वास रहिआएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*