मकवानपुरमा जीर्ण काठका पोलले जोखिम बढ्दै
हेटौंडा । मकवानपुरमा जीर्ण काठका पोलले जोखिम बढ्दै छ । मकवानपुर जिल्लाका गाउँ गाउँमा विद्युत प्रसारण लाइन विस्तारका क्रममा गाडिएका जीर्ण बनेका काठको पोल नहटाउँदा जोखिम बढ्दै गएको हो ।
विद्युत विस्तारका क्रममा वर्षौँ अघि नेपाल विद्युत प्राधिकरणले वषौअघि गाडेका काठका पोल यतिखेर कुहिएर, मकिएर र धमिराले खाएर जीर्ण बनी ढल्ने अवस्थामा पुग्दा जोखिम बढ्दै गएको स्थानीयको गुनासो छ ।
मकवानपुरको मकवानपुरगढी गाउँपालिका, कैलाश गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका, भीमफेदी गाउँपालिका, मनहरी गाउँपालिका, राक्सिराङ गाउँपालिका लगायतका क्षेत्रमा विद्युत विस्तारका लागि गाडीएका काठका पोलका कारण अहिले समस्या बन्दै गएको हो ।
पहिले सिमेन्ट र फलामका पोलका सट्टा काठका पोल गाडीने भएकाले यो समस्या आएको मकवानपुरगढीका स्याम तिमल्सीना बताउँछन् । उनी भन्छन्–कति पटक भन्नु, मुख नै दुःखी सक्यो । पोल जीर्ण बनी ढल्ने अवस्थामा पुगेको छ । कतिखेर दुर्घटना व्यहोर्नु पर्ने हो । काठको पोल हटाएर फलामको पोल गाडी दिए सधैँलाई ढुक्क हुने थियो ।’’
नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले जिल्लाका ग्रामीण क्षेत्रमा समेत फलाम र सिमेन्टको पोलको अभावमा सुरुका वर्षमा काठको पोल गाडेर विद्युत विस्तार गरेको स्थानीय बासिन्दा बत्ताउँछन् ।
मकवानपुर जिल्लाको सुगम ठाउँभन्दा दुर्गम ठाउँमा काठको पोल प्रयोग गरी विद्युत विस्तार कार्य भएको स्थानीय बत्ताउँछन् । स्थानीय तह गठन अघि तत्कालीन समयमा गाविस र जिविसले समेत बजेट लगानी गरी काठको पोल खरिद गरी विद्युत विस्तार गरेकाले यतिखेर समस्या आएको स्थानीयको भनाइ छ ।
नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रका अनुसार जिल्लाका विभिन्न भागमा गरी यतिखेर काठको पोल फेर्ने र सिमेन्टका पोल हालिदै आएको छ ।






