प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपतिबाट शपथ ग्रहण, यी हुन् नयाँ सरकारका मन्त्रीहरू

जनपत्र
३२ असार २०८१, सोमबार १२:४१

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज भएको एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाईशसपथ गराउनुभएको हो । ओली हिजो मात्रै प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, झलनाथ खनाल र डा. बाबुराम भट्टराईसहित विभिन्न राजनीतिक दलका नेता, सांसद, नेपाल सरकारका विशिष्ट अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालमा रहेका विदेशी कुटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि तथा सामाजिक जीवनका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका विशिष्ट व्यक्तित्वहरूको सहभागिता थियो ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ काे उपधारा (२) बमोजिम नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा एमालेका अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो । प्रतिनिधि सभाका दुई ठूला राजनीतिक दल कांग्रेस र एमालेबीच यही असार १७ गते भएको सहमतिसँगै अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिपरिषद् पनि विस्तार भएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज भएको एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको तर्फबाट उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह र नेकपा एमालेबाट उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेललाई शपथ ग्रहण गराउनुभएको छ ।

यस्तै अरू मन्त्रीहरूलाई पनि राष्ट्रपति पौडेलले शपथ गराउनुभएको छ । एमालेबाट पृथ्वीसुब्बा गुरुङ सञ्चार तथा सूचना प्रविधिमन्त्री, राजकुमार गुप्ता सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री र मानवीर राईले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ । यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा बलराम अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दामोदर भण्डारी दोहोरिनुभएको छ । त्यस्तै शिक्षामन्त्रीमा विद्या भट्टराई र राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहाललाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा दिइएको छ ।

यस्तै कांग्रेसबाट रमेश लेखक गृह र आरजु राणा परराष्ट्रमन्त्री बन्नुभएको छ । यसैगरी दीपक खड्का ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, अजय चौरासिया कानुन न्याय तथा संसदीय मामिलामन्त्री र ऐनबहादुर शाही वन तथा वातावरणमन्त्री बन्नुभएको छ । यस्तै कांग्रेसको गगन थापा र शेखर कोइराला समूहबाट प्रदीप पौडेल स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री, बद्री पाण्डे संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, तेजुलाल चौधरी युवा तथा खेलकुदमन्त्री र कृषिमन्त्रीमा रामनाथ अधिकारी नियुक्त हुनुभएको छ

यस्तै लोकतान्त्रिक समाजवादी पार्टीबाट शरतसिंह भण्डारी श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री र जनता समाजवादी पार्टी (जसपा) का प्रदीप यादव खानेपानीमन्त्री र नवलकिशोर साह सुडी महिला बालबालिका तथा समाज कल्याणमन्त्री बन्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*