काठमाण्डौ महानगर : स्थानीय पेय पदार्थको ‘ब्राण्डिङ्’ सम्भाव्यता अध्ययन शुरु
काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले ‘स्थानीय पेय पदार्थको ब्राण्डिङ्’ सम्भाव्यता अध्ययन शुरु गरेको छ । नेवाः समुदायले धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यका लागि उत्पादन गर्ने पेय पदार्थ औषधिका रूपमासमेत प्रयोग हुने गरेको छ ।
जन्मदेखि मृत्यसम्मका संस्कार तथा शुभकार्य, जात्रा पर्व, पाहुना आउँदा वा बिदाइ गर्दा आफैँले उत्पादन गरेको पेय पदार्थ (ऐला, ठोँ) लाई गुणस्तरीय मानिन्छ । यस्तो पेय पदार्थको गुणस्तरीयतालाई ब्राण्डिङ् गरेर विश्व समक्ष पुर्याउने सम्भावनालाई अध्ययनबाट हेर्न लागिएको हो ।
यो कार्यक्रमलाई सहकारी विभागले अगाडि बढाएको हो । यस कार्यक्रमका बारेमा महानगरले नेवाः समुदायभित्रका विभिन्न गुठी तथा संघ संस्थाका प्रतिनिधिसँग छलफलसमेत गरिसकेको छ ।
छलफलमा महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले अध्ययनबाट आर्थिक, सामाजिक, सांस्कृतिक जस्ता पहिचान बढाउन सहयोग पुग्ने देखियो भने कानुनी व्यवस्था संशोधन गरेर भए पनि सम्भावनालाई नतिजामा रुपान्तरण गर्ने बताउनुभयो । उहाँले संस्कृतिसँग जोडिएको उत्पादनका प्रक्रियालाई पुस्तान्तरण गर्ने काममा अध्ययनले सहयोग गर्ने बताउनुभयो ।
छलफलमा सहभागीले पेय पदार्थ उत्पादनका लागि आवश्यक कच्चा पदार्थ, उत्पादन प्रक्रिया, मात्रा, समयावधि, भण्डारण विधि, प्रयोग विधिलगायतका विषयमा जानकारी दिंदै, महानगरले अगाडि सारेको कार्यक्रमले नेवाः सभ्यता अन्तर्राष्ट्रियकरण हुनमा ठूलो योगदान हुने प्रतिक्रिया दिएका छन् ।






