‘छ माया छपक्कै’ ट्रेलरलाई ताली कम, गाली ज्यादा
‘६ एकान ६’ बाट फिल्म निर्माण सुरु गरेको दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले पछिल्लो रिलिज फिल्म ‘छक्का पञ्जा ३’ सम्म आइपुग्दा असफलता भोग्नु परेको छैन । एकपछि अर्को फिल्मले बक्सअफिसमा रेकर्ड कायम गरेका छन् । दर्शकको ठूलो वर्गको विश्वास जित्न सफल यो टिमले पहिलो पटक बाहिरी ब्यानरसँग सहकार्य गरेको फिल्म ‘छ माया छपक्कै’ असोज २४ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्मलाई रोहित अधिकारीले निर्माण गरेका हुन् ।
दशैंको विदा खाने गरि यो फिल्मको निर्माण गरिएको थियो । तर, त्यो सम्भव भएन । दशैंमा फिल्म प्रदर्शनका लागि ठूलो राजनीति भएपछि दीपकराजको समुहले हार खाएर दशैं विदा त्याग्यो । अब यो फिल्म दशैं सकिएपछि अर्थात् बिना विदामा प्रदर्शन हुँदैछ । यसकारण फिल्मको व्यापारिक नतिजा कस्तो होला भन्ने अहिले विभिन्न खाले अडकलबाजी भइरहेको छ । निर्माण टिम भने अघिल्ला फिल्ममाझैँ यसपटक पनि दर्शकको साथ पाउनेमा विश्वस्त छ ।
गएको शुक्रबार यो फिल्मको ट्रेलर सार्वजनिक भयो । सफलताको मानक मानिने युट्युबको ट्रेन्डिङमा उक्लन नसकेको फिल्मको ट्रेलरलाई सकारात्मकभन्दा नकारात्मक प्रतिक्रिया बढि प्राप्त छ । ७ लाखभन्दा बढि पटक हेरिसकिएको ट्रेलरलाई अहिलेसम्म १९ हजार लाइक्स मिलेको छ । भने, १३ सय बढिले ‘पब्लिक कमेन्ट’ मा आफ्नो विचार राखेका छन् । जसमध्ये आधाभन्दा बढि कमेन्ट ट्रेलरको आलोचनाले भरिएको छ ।







