छोडपत्रपछि श्रीमतीको हत्या
काठमाडौं । दाङको तुलसीपुरमा नेपाली सेनाका अमलदार ३६ वर्षीय शालिकराम बुढाथोकीले छोडपत्र भइसकेकी श्रीमतीको हत्या गरेका छन् ।
करिब ३० वर्षीया टीका रावत ज्यान जोगाउन डेरा कोठाबाट भागेर छिमेकीको घरमा पुगे पनि शालिकराम त्यहीँ पुगेर धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी ठाकुरप्रसाद पोखरेलका अनुसार शालिकराम र टीकाबीच जेठ १४ गते मात्र छोडपत्र भएको थियो । ‘छोडपत्र भए पनि केही लाख लेनदेन बाँकी नै थियो । आफ्ना सामान लिन भनेर शालिकराम आज बिहान ८ः२५ बजेतिर डेरा कोठामा पुग्दा विवाद भएपछि घटना भएको रहेछ,’ डिएसपी पोखरेलले भने ।
आक्रमणबाट जोगिँदै टीका डेरा कोठाबाट भागेर छिमेकी तुलसीराम ओलीको घरको पहिलो तालाको कौसीमा पुगेकी थिइन् । शालिकराम त्यहीँ गएर हतियार प्रहार गरेर हत्या गरेको डीएसपी पोखरेलले जानकारी दिए । डीएसपी पोखरेलका अनुसार यो घटना करिब आधा घण्टाको बीचमा भएको छ ।






