च्याम्पियन्स लिग सेमिफाइनल : आज राति बार्यन र रियल मड्रिड खेल्दै
काठमाण्डाै – यूईएफए च्याम्पियन्स लिग फुटबलको पहिलो सेमिफाइनल खेल आज राति हुँदैछ । सेमिफाइनलको पहिलो लेगमा आज राति पौने १ बजे जर्मन क्लब बार्यन म्युनिख र स्पेनी क्लब रियल मड्रिड खेल्दैछन् । यो खेल बार्यनको घरेलु मैदान एलिनाज एरिनामा हुनेछ ।
क्वार्टरफाइनलमा बार्यनले इङ्ग्लिस क्लब आर्सनल र रियल मड्रिडले अर्काे इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीलाई हराएर अन्तिम चारमा पुगेका हुन् । बार्यनले आर्सनललाई ३–२ गोलले हराउँदा रियलले सिटीलाई पेनाल्टीमा ४–३ गोलले हराएको थियो ।
च्याम्पियन्स लिगमा रियल मड्रिड सबैभन्दा सफल टिम हो । रियलले सबैभन्दा धेरै १४ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । यस्तै बार्यन म्युनिखले छ पटक उपाधि जितेको छ ।
च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलमा भोलि राति पौने १ बजे बोरुसिया डर्टमन्ड र पेरिस सेन्ट जर्मेइन अर्थात् पीएसजी खेल्दैछन् ।







