भारतीय कमेडियन तथा बिगबोस विजेता मुनव्वर फारुकी पक्राउ
भारतको मुम्बई प्रहरीले हुक्का पार्लरमा छापा मारेर स्ट्यान्ड–अप कमेडियन तथा टेलिभिजन रियालिटी शो ‘बिग बोस १७’ का विजेता मुनव्वर फारुकीसहित १३ जनालाई पक्राउ गरेको छ । यी सबैविरुद्ध मुद्दा समेत दर्ता भएको छ ।
फारुकी बिग बोसको पछिल्लो सिजनका विजेता समेत हुन् । फोर्ट क्षेत्रको होटल सबलान हुक्का पार्लरमा सुर्तीजन्य पदार्थ सेवन भइरहेको जानकारी प्राप्त भएपछि प्रहरीले छापा मारेको थियो ।
अवैध रुपमा चल्ने यो हुक्का पार्लरमा प्रहरीले छापा मारेर ४ हजार ४०० भारु नगद र ५०० भारु बराबरको ९ थान हुक्का बरामद गरेको थियो । चुरोट र अन्य तम्बाकु उत्पादन ऐनको धाराअन्तर्गत मुद्दा दर्ता गरिएको छ ।
मुनव्वरको नाम कुनै विवादमा जोडिएको यो भने पहिलोपटक होइन । सन् २०२१ मा उनीमाथि धार्मिक भावना भड्काएको आरोप लागेको थियो । उनले आफ्नो एक स्ट्यान्डअप कार्यक्रममा हिन्दू देवता र देवीको बारेमा विवादास्पद टिप्पणी गरेको भन्दै आलोचना भएको थियो । उनीविरुद्ध धेरै राज्यमा एफआईआर पनि दर्ता भएको थियो । त्यसबेला उनी ३७ दिन हिरासतमा बसेका थिए ।
विवादमा आएपछि मुनव्वरले पहिलो पटक सन् २०२२ मा कंगना रनौतको रियालिटी शो ‘लक अप’ मा भाग लिएका थिए । उनी उक्त सिजन १ को विजेता पनि थिए ।







