सामाजिक सुरक्षा कोषमा चौधरी ग्रुपसहित ठूला कम्पनी, श्रमिकको संख्या ५० हजार नाघ्यो
काठमाण्डौ – सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने श्रमिकको संख्या ५० हजार नाघेको छ । बुधबार दिउँसो २ बजेसम्म सूचीकृत हुने श्रमिकको संख्या ५० हजार १ सय ४० पुगेको कोषका कार्यकारी निर्देशक कपिल ज्ञवालीले जानकारी दिनुभयो । यस्तै सूचीकृत रोजगारदाताको संख्या ४ हजार ७ सय ९० पुगेको छ ।
सूचीकरणका लागि तोकिएको समयसीमा नजिकिंदै गर्दा आवद्ध हुन आउने रोजगारदाता तथा श्रमिकको संख्या उल्लेख्य बढ्दै गएको कोषले जनाएको छ । कोषमा सूचीकृत हुनेमा ठूला रोजगारदाताको संख्या बढी देखिएको निर्देशक ज्ञवालीले बताउनुभयो । चौधरी ग्रुप, गोल्छा अर्गनाइजेसन, डाबर नेपाल, सूर्य नेपाल, शिवम सिमेन्ट, युनिलिभर, जीफोरएससहित १ सय १७ वटा ‘आउटसोर्सिङ’ कम्पनीहरु, नोबल मेडिकल कलेज, मेडिकेयर अस्पताल, गोल्डस्टार सुज, नर्भिक अस्पताल र आम्दा नेपाल सूचिकृत भएका छन् ।
यस्तै, सानीमा हाइड्रो, सोल्टी होटल, मेरियट होटल, सांग्रीला होटल, शंकर ग्रुप, यती डिष्टीलरी, ट्रिनटी कलेज, किष्ट कलेज, त्रियोग स्कुल, इन्फोटेक सर्भिसेज (विभिन्न क्षेत्रमा हजारौं प्राविधिक कर्मचारीलाइ आउट सोसिंङ गर्ने कम्पनी), दराज डटकम लगायकत सामाजिक सुरक्षा कोषमा सूचीकृत भैसकेका छन् । कतिपय संस्थामा कोषका कर्मचारी आफैं पुगेर सूचीकरणको लागि सहयोग गरेका छन् । सूचीकरणलाई अझै छिटो छरितो बनाउन केही दिनभित्रै कलसेन्टर खोल्ने तयारी भैरहेको काषेले जनाएको छ ।






