१२ वर्षपछि परराष्ट्र मन्त्रालय फर्किएका श्रेष्ठका १२ लक्ष्य
काठमाडौं । सत्ता समीकरण फेरिएसँगै उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ १२ वर्षपछि पुनः परराष्ट्र मन्त्रालयको नेतृत्वमा आइपुगेका छन् । पहिलोपटक २०६८ सालमा परराष्ट्रमन्त्री बनेका श्रेष्ठले बुधबार दोस्रोपटक उक्त जिम्मेवारी सम्हालेका हुन् ।
श्रेष्ठ १२ वर्षपछि मन्त्रालयको नेतृत्वमा फर्किए पनि मुलुकको परराष्ट्र नीतिको हविगतमा भने तात्विक फरक आइसकेको छैन । बदलिंदो विश्व परिस्थिति र पेचिलो बन्दै गइरहेको भू-राजनीतिका कारण मुलुकको परराष्ट्र सम्बन्ध थप जटिल बन्दै गइरहेको छ । यद्यपि, चुनौतीसँगै अवसरका दायराहरू पनि खुकुलो बन्दै छन् । विश्व राजनीतिमा ध्रुवीकरणका अनेकौं दृश्यहरू देखापर्न थालेका छन् ।
आफ्नै दुई छिमेकी मुलुकहरूले आर्थिक उन्नतिमा विशाल फड्को मारेका छन् । यसलाई कसरी राष्ट्रको हितमा कसरी प्रयोग गर्ने भन्नेमा नेपालको ध्यान केन्द्रित हुनुपर्नेमा विज्ञहरूको जोड छ ।
बुधबार मन्त्रालयमा पदभार ग्रहण गर्दै उपप्रधानमन्त्री श्रेष्ठले सिंगो परराष्ट्र मन्त्रालय त्यसमा केन्द्रित हुने बताए । १२ वर्षपछि पुनः परराष्ट्र मन्त्रालयको जिम्मेवारीमा फर्किंदा फेरि आफ्नै परिवारमा आएकोजस्तो सुखद अनुभूति भएको भन्दै श्रेष्ठले देशको राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनताको रक्षा र प्रवर्द्धनमा एकताबद्ध भएर काम गर्नुपर्ने बताए ।
राष्ट्रिय हितलाई केन्द्रमा राखेर स्वतन्त्र परराष्ट्र नीतिको अवलम्बन गर्ने भन्दै संयुक्त राष्ट्र संघको वडापत्र, पञ्चशीलको सिद्धान्त, असंलग्नता र राष्ट्रिय हितलाई सर्वोपरी राख्दै स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्ने सरकारको नीति अन्तर्गत रहेर काम गर्न मन्त्रालयका कर्मचारीलाई निर्देशन समेत दिए ।
स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गरिरहँदा कूटनीतिक दक्षता र श्रेष्ठताको आवश्यक्ता पर्ने भन्दै उनले आजको विश्वमा चलिरहेको ‘डिप्लोमेसी इज फर्स्ट’ भन्ने मान्यतालाइ पकड्नु पर्ने बताए ।
‘आजको विश्व परिस्थिति र हाम्रोजस्तो देशको भूराजनीति अवस्थितिले केही सकारात्मक पक्ष पनि हामीलाई अवसरका रुपमा दिएका छन् भने गम्भीर चुनौती पनि हाम्रा अगाडि छन’, उनले भने, ‘यो सकारात्मक अवसरलाई पकडन र चुनौतीलाई चिर्दै अगाडि बढ्न हामीले कूटनीतिक श्रेष्ठतामा ध्यान दिनै पर्नेछ ।’
उनले नेपालका दुई छिमेकी मित्र राष्ट्रसँगको सम्बन्धलाई सुदृढ गर्न अझ उन्नत बनाउने विषयलाई प्राथमिकता दिने र विश्वका सबै शक्तिशाली राष्ट्र तथा सबै मित्रहरूसँग मैत्रिपूर्ण सम्बन्ध विकास गर्न आफ्नो लक्ष्य रहेको समेत उनले बताए ।






