रास्वपाको प्रतिवेदन : घरजग्गामा सहकारीको लगानी बन्द गरौं

जनपत्र
१ फाल्गुन २०८०, मंगलवार ११:५०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारीहरुले घरजग्गामा गर्ने लगानी बन्द गर्न सरकारलाई आग्रह गरेको छ ।

सहकारी तथा लघुवित्त क्षेत्रमा देखिएको समस्याबारे अध्ययन गर्न रास्वपाले उपाध्यक्ष डा. स्वर्णिम वाग्लेको नेतृत्वमा बनाएको समितिले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नै भेटेर आफ्नो सुझाव बुझाएको छ ।

प्रतिवेदनमा एक वर्षका लागि बचत तथा ऋण कारोबार गर्ने सहकारी दर्ता, कार्यक्षेत्र विस्तार अनुमति तथा सेवा केन्द्र स्वीकृतिका काम बन्द गर्न सुझाव दिइएको छ । ‘सहकारीहरुले घरजग्गा लगायतका अनुत्पादनशील क्षेत्रमा गरिने लगानीलाई बन्द गर्ने’ प्रतिवेदनमा भनिएको छ ।

५० करोडभन्दा बढी कारोबार गर्ने सहकारीको नियमन राष्ट्र बैंक अन्तर्गत ल्याउनुपर्ने र बचतकर्ताको निक्षेप सुरक्षण गर्न सहकारी बचत तथा कर्जा सुरक्षण कोष तत्काल स्थापना गर्नुपर्ने रास्वपाले बताएको छ ।

बचत फिर्ता गर्न नसक्ने अवस्थामा रहेका सहकारीलाई समस्याग्रस्त घोषणा गर्ने र त्यसको सम्पत्ति विक्री लगायतबाट बचत फिर्तालाई प्राथमिकता दिनुपर्ने उसले बताएको छ ।

लघुवित्तको हकमा काबु बाहिरको परिस्थितिले ऋण भुक्तानी गर्न अप्ठ्यारोमा परेका ऋणीहरुको पहिचान गर्ने, नियतबस ऋण नतिर्नेहरुलाई कालोसूचीमा राखेर ऋण असुली प्रक्रिया अगाडि बढाउनुपर्ने रास्वपाले बताएको छ ।

रास्वपाको समितिले ऐन कानुनमा गर्नुपर्ने संशोधनका साथै पदाधिकारी तथा कर्मचारीको क्षमता अभिवृद्धि र वित्तीय साक्षरताबारे पनि सुझाव दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*