नेपाली कांग्रेसले स्थापना दिवस मनाउँदै
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले आज ७८ औं स्थापना दिवस मनाउँदै छ । भारतको कलकत्तामा नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको मिति २००३ माघ १२ गतेलाई आधार मानेर कांग्रेसले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ ।
यस वर्ष स्थापना दिवसको सन्दर्भमा पार्टी केन्द्रीय कार्यालयसहित सातै प्रदेश र जिल्लाहरूमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने नेपाली कांग्रेसले जनाएको छ ।
आज दिउँसो २ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सभापति शेरबहादुर देउवाको उपस्थितिमा विशेष कार्यक्रम हुँदैछ ।
वीपी कोइरालाको पहलमा २००३ साल माघ १२ गतेसम्म कलकत्ताको भवानीपुरमा युवाहरुको पहिलो भेला भएको थियो । त्यो भेलाले नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरेको थियो । गणेशमान सिंहको प्रस्तावअनुसार भेलाले टंकप्रसाद आचार्यलाई सभापति र वीपी कोइरालालाई कार्यवाहक सभापति चयन गरेको थियो ।






