एमाले बागमती प्रदेश अधिवेशन आजबाट सुरु, अध्यक्ष पदका लागि अझै ५ जनाको दौडधुप

जनपत्र
८ आश्विन २०८०, सोमबार ०७:१८

हेटौंडा । आजबाट काठमाण्डौंमा नेकपा एमाले बागमती प्रदेशको अधिवेशन हुँदै छ । उक्त अधिवेशनको तयारी तीव्र पारिएको छ भने नेतृत्व हत्याउने दौडमा आकाङ्क्षीहरू सक्रिय बनिरहेका छन् ।

काठमाडौँको भृकुटी मण्डपमा हुने एमालेको प्रथम प्रदेश अधिवेशनबाट एमाले बागमती प्रदेशको नयाँ कमिटी निर्माण हुनेछ । आज दिउसो अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने अधिवेशनमा त्यसअघि काठमाडौँका विभिन्न ६ वटा स्थानबाट र्‍याली निकाल्ने र उक्त र्‍याली भृकुटीमण्डप पुग्नेछ ।

नौ गते गते बन्द सत्र, १० गते विद्युतीय मतदानको अधिवेशन कार्यतालिका छ । बागमती प्रदेश अधिवेशनका लागि १३ वटा जिल्लाबाट १ हजार १३८ प्रतिनिधि छनोट भैसकेका छन् भने ५ प्रतिशत मनोनयन गर्दा करिब २५ जना थप प्रतिनिधि थपिनेछन् । प्रत्येक पालिकालाई एक निर्वाचन क्षेत्र मानेर प्रतिनिधि चयन गरिएको एमालेले जनाएको छ ।

अधिवेशनका लागि एमाले प्रदेश कमिटीका अनुसार अधिवेशनमा सबैभन्दा बढी प्रतिनिधि काठमाडौँका १३२ जना प्रतिनिधि छनोट भएका छन् । त्यसै गरी काभ्रेबाट १२५ र मकवानपुरबाट १०६ जना तथा धादिङबाट ८७, दोलखा ६५, रसुवा २७, सिन्धुपाल्चोक ६४, रामेछाप ८१, नुवाकोट ६४, ललितपुर ५०, भक्तपुर ६६, सिन्धुली ६६ र चितवनबाट ८५ जना प्रतिनिधि छनोट भएका छन् । जनसंगठनबाट ९५ जना प्रतिनिधि छानिएका छन् ।

बागमती प्रदेशमा एमालेका एक लाख नौ हजार सङ्गठित सदस्य रहेका छन् । एमालेले १२५ सङ्गठित सदस्यमध्ये एक जना प्रतिनिधि छनोट हुने व्यवस्था मिलाएकोमा दलितको हकमा ५० सङ्गठित सदस्य बराबर एक जना प्रतिनिधि छनोट गरेको छ ।

नेकपा एमालेको बागमती प्रदेश अधिवेशन उद्घाटनको समय नजिकिँदै गर्दा अध्यक्षका आकाङ्क्षीमा पूर्व सांसद कृष्णभक्त पोखरेलको ‘इन्ट्री’ भएको छ । यसअघि रामेछापका कैलाश ढुंगेल, काठमाडौँका सानु श्रेष्ठ, मकवानपुरका कृष्णप्रसाद दाहाल र नुवाकोटका केशवराज पाण्डे प्रदेश कमिटी अध्यक्षको आकाङ्क्षीका रूपमा चर्चामा आएका थिए । नुवाकोटका पाण्डे हाल पनि प्रदेश कमिटीका अध्यक्ष हुन् ।

त्यस्तै श्रेष्ठ प्रदेश सभामुख भैसकेका नेता हुन् भने ढुंगेल प्रदेशको आर्थिक मन्त्री भैसकेका नेता हुन् । सुरुवाती दिनमा दोलखाकी रचना खड्काले पनि अध्यक्षमा आकाङ्क्षा देखाए पनि उनी पछिल्ला दिनमा रिङ आउट भइसकेकी छन् । एमाले नेतृत्वले सकभर सहमतिमै प्रदेश कमिटीको नेतृत्व चयन गर्ने पक्षमा रहेका बेला पोखरेलको एकाएक इन्ट्री भएको हो । अध्यक्षका आकाङ्क्षीमध्येका ढुंगेल र दाहालले सहमतिका लागि आफूहरू बाधक नबन्ने बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*