सम्झना : शिक्षा र साहित्यका धरोहर तुल्सी थापा
हेटौंडा — बोली र शब्दमा अतुलनीय ओजनस अन्तर्मुखी स्वभाव भएका बहुआयामिक क्षमताका वरिष्ठ साहित्यकार प्रेरणादायी एवं सफल शिक्षकको रुपमा पहिचान बनाएका तुल्सी थापाको २०८० भदौ ८ गते उपचारकै क्रममा चितवनको एक अस्पतालमा निधन भयो ।
थापालाई निमोनिया, मधुमेह, रक्तचापसम्बन्धी समस्या थियो । थापा मकवानपुरको शिक्षा र साहित्य क्षेत्रका थापा एक नक्षत्रमात्र थिएनन्, इमानदारिता र निष्ठाका प्रतीक पनि थिए ।
उनी कुनै पनि विचार, जात र धर्मभन्दा माथि थिए । आफूले पढाइरहेको नामटारस्थित विद्यालयको भवन र भेंसैस्थित आफ्नो घर २०५० सालको बाढीले बगाउँदा विद्यालय भवन पूनर्निर्माण गरेर पढाइ सञ्चालन गरे पनि घर भने बनाएनन् । देशविदेशमा रहेका साथी भाइहरूसँग सहयोग लिएर उनले स्कुलको भवन पुनर्निर्माण गरेका थिए । ‘थापा सर नभएको भए नामटार स्कुलको भवन बन्ने थिएन‚’ स्थानीय अर्जुन बर्तौलाले भने, ‘आफ्नो घर नबनाएर स्कुल बनाउने शिक्षक अब पाइँदैन ।’ त्यति बेला थापा नामटारस्थित कालिका माविको प्रधानाध्यापक थिए ।
थापा अत्यन्त गरिब, विपन्न र सीमान्तीकृत समुदायको उत्थान र विकासका निम्ति कागजी योजनामात्र बनाउने होइन, व्यावहारिक रुपमा कार्यक्रमहरू सञ्चालन गरेर उनीहरूको जीवनमा परिवर्तनको रेखा कोर्ने कालीगढ पनि हुन् । २०३४ सालमा मनहरीमा भएको चेपाङहरूको बृहत् भेलाको सदस्य सचिव पनि तुल्सी थापा नै थिए । त्यतिमात्र होइन, उनको बुबा दिलबहादुर थापाले प्रज्ञा प्रतिष्ठानको आग्रहमा व्यावहारिक ज्ञानका निम्ति नेपाली भाषालाई चेपाङ भाषामा उल्था गरेका थिए । त्यसले पनि थापालाई कुना कन्दराको ओढारहरूमा बसेका अत्यन्त विपन्न चेपाङ समुदायप्रति आकर्षण गरेको हुनुपर्छ । मकवानपुरमा यो समुदाय त्रिभुवन राजपथदेखि पश्चिम, पूर्वपश्चिम राजमार्गको हेटौंडादेखि मुग्लिङ खण्डदेखि उत्तर र मुग्लिङ खानीखोलासम्म पृथ्वीराजमार्गको पूर्वको भित्री भागमा पर्ने, कुनै पनि राजमार्गले नछिचोलेको त्रिकोणात्मक पहाडी भूमिको भित्री भागको जंगलबीचको ओढारमा बस्थे । यो भूखण्ड चुरे पर्वत शृङ्खलाको उत्तर र महाभारत पर्वत शृङ्खलाको दक्षिणमा पर्छ ।
सदस्यसचिव भएर चेपाङ सम्मेलन गरिरहँदा उनी जनकल्याण माध्यमिक विद्यालय पालुङमा प्रधानाध्यापक थिए । उक्त सम्मेलनको रेडक्रसका संस्थापक अध्यक्ष प्रिन्सेप शाहले उद्घाटन गरेकी थिइन् । सम्मेलनमा चेपाङहरुको अवस्था देखेपछि शाहमार्फत तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहलाई जानकारी गराइएको थियो । तत्पश्चात् राजा वीरेन्द्रबाट चेपाङहरूको समग्र विकास र उत्थानका लागि कार्यक्रम सञ्चालन गर्ने घोषणा गरियो । २०३५र३६ सालदेखि तत्कालीन जिल्ला पञ्चायतमार्फत् प्रजा विकास कार्यक्रम सञ्चालन गरियो ।
उक्त कार्यक्रम सञ्चालन गर्नका लागि तत्कालीन अञ्चलाधीशको सक्रियतामा उनलाई जनकल्याण मावि पालुङको प्रअबाट अन्तरमन्त्रालय सरुवा गरेर २०३६ सालदेखि प्रजा विकास कार्यक्रमको प्रमुख बनाइयो । चेपाङ समुदायको अवस्थाले मानवीय संवदेना जागृत भएर चेपाङहरुको उत्थानका लागि उनी काजमा आएका थिए ।आफू भुइँ मानिस भएर होला, भुईं मानिसकै विकास र उत्थानमा रहर जागेको उनको ठम्याइ थियो । मकवानपुर जिल्लामा त्यतिबेलाको ८ वटा गाउँ पञ्चायतमा चेपाङ जातिको बाहुल्य रहेको थियो । उनीहरूको जीवनमा परिवर्तन ल्याउन अल्पकालीन कार्ययोजना तयार गर्ने र तत्कालीन जिल्ला पञ्चालयतमा प्रतिवेदन बुझाउने, स्वीकृत कार्यक्रमहरु कार्यान्वयन गर्ने उनको जिम्मेवारी थियो ।
अहिलेको राक्सिराङ गाउँपालिकाको केन्द्र रहेको चैनपुरलाई प्रजा विकास कार्यक्रम प्रचारप्रसारको थलोको रुपमा विकास गरिएको थियो । उनको अधिकांश समय चेपाङहरुको कसरी दिगो रुपमा विकास गर्ने भनेर चैनपुरमा नै बित्थ्यो । त्यतिबेला चेपाङ समुदायको जीवनमा परिवर्तन ल्याउन साहुहरुको तमसुक च्यात्नुपर्ने उनको तर्क रहन्थ्यो । चेपाङहरुलाई आयआर्जनको निम्ति दिएका बाख्राहरू साहुले लैजाने गर्थे । साहुले बाख्रा लैजान थालेपछि चेपाङहरुलाई सीप सिकाउन थाले । चेपाङहरुलाई सीप सिकाउने र उनीहरुको बालबच्चा हेरविचार गर्न स्याहार केन्द्र चैनपुरमा नै राखिएको थियो ।
चेपाङ समुदायको विकासमा योगदान पुर्याएको भन्दै २०४४ सालमा उनलाई ‘गोरखा दक्षिण बाहु’ बाट सम्मानित गरिएको थियो । साँच्चिकै चेपाङहरुको दिर्घकालीन ढंगले उत्थान गर्ने सोच र चिन्तनमा उनी थिए तर त्यतिबेलाको शासन पद्धति र गाउँका अगुवाहरु यथार्थमा चेपाङको विकास रुचाउँदैनथे । चेपाङ समुदायको विकास गर्न आएका रकमहरु त्यतिबेलाका अगुवाहरु अन्यत्र प्रयोग गर्न खोज्थे । त्यो कुरा उनलाई सह्य हुने थिएन । त्यति हुँदाहुँदै पनि लगभग १२ वर्ष उनी चेपाङ समुदायसँग रमाए ।
चेपाङ समुदायको अमेट सम्झना, माया र प्रेम बोकेर २०४८ सालमा नामटारस्थित कालिका माविमा प्रअको जिम्मेवारीमा फर्किए । उनले आफ्नो कार्यकालमा ओढारमा बसेका ५० परिवारभन्दा बढी चेपाङहरुलाई घर बनाएर स्थानान्तरण गरेका थिए । त्यति हुदाँहुँदै पनि २०७२र०७३ सालसम्म पनि केही चेपाङहरु ओढारमा नै थिए । चेपाङहरुले मनैभित्रबाट सम्झिइरहने नाममध्येको नाम हो तुल्सी थापा । ‘ मकवानपुरका चेपाङ समुदायलाई उज्यालोतर्फ डोर्याउने काम उहाँले नै गर्नुभएको हो’ नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष गोविन्द चेपाङले भने,‘तुल्सी थापाको मृत्युले हामीलाई स्तब्ध बनाउनुको साथै एउटा सच्चा अभिभावक गुमाएका छौं ।’
पछाडि पारिएका समुदायको उत्थानका लागि १२ वर्षसम्म खटिएका थापा विक्रम संवत् २००२ साल असोज ३ गते मकवानपुरको भैँसेमा जन्मेका थिए । थापा मकवानपुरे साहित्यिक फाँटका बलिया र सक्षम खम्बा हुन् । थोरै साहित्यिक पुस्तक प्रकाशन गरेर साहित्यिक जगतमा आफ्नो दरिलो उपस्थिति देखाउन उनी सक्षम थिए । भीम विराग साहित्य कला प्रतिष्ठानका नेपालका संस्थापक अध्यक्षसमेत रहेका थापा समयानुसार साहित्यका विभिन्न विधामा कलम चलाउँदै आएका थिए । कृतिका रुपमा ‘एक निमेष अनन्तको’ दाना कविता संग्रह, अमर सिंहको खोजीमा अमर सिंह’ नाटक र कथासंग्रह ‘फरक आकाश’ प्रकाशित छन् । दर्जनभन्दा बढी मानसम्मान र पुरस्कार पाउन सफल थापा साहित्य संगम मकवानपुर, सहिद स्मारक विकास समिति, मातृभूमि साहित्य समाजजस्ता विभिन्न संस्थाहरूसँग आबद्ध रहेका थिए । समाजलाई सकारात्मक रुपान्तरण गर्न शिक्षा र साहित्यको तर्फबाट थापाले महत्त्वपूर्ण योगदान दिएको ठम्याइ साहित्यकार एवं प्रध्यापक निमेष निखिलको छ ।
थापा अंग्रेजी विषयका शिक्षक थिए । उनको अगाडी विद्यार्थीहरू मात्र होइन, शिक्षकहरू पनि ठाडो शिर गरेर बोल्न सक्दैनथे । उनको विद्यालयमा कडा अनुशासन थियो । उनी प्रधानाध्यापक भएको स्कुलमा शिक्षक र विद्यार्थी दुवै अनुशासित थिए । काम चोर शिक्षक उनी प्रधानाध्यापक भएको मन पराउँदैनथे । शिक्षक अनुशासित र इमानदार भएमात्र विद्यार्थी पनि अनुशासित र सक्षम हुन सक्छन् भन्ने ठम्याइ उनको थियो । थापाले थाहा नगरपालिकास्थित जनकल्याण माध्यमिक विद्यालयमा प्रधानाध्यापकको पहिलो जिम्मेवारी सम्हालेका थिए । उक्त माविका हालका प्रधानाध्यापक सानोभाइ कार्की उनलाई सम्झँदै भन्छन्, ‘थापा सरको जस्तो कमान्ड र अनुशासन शिक्षा क्षेत्रमा अहिलेसम्म भेटेको छैन ।’ उक्त विद्यालयले थापाको सम्झनामा बुधबार शोक सभा गरेर छुट्टी गरेको छ ।
निरन्तरता र समर्पणले काममा सफलता मिल्ने विश्वास लिएका थापा सरल जीवन र इमानदारिताका पर्याय थिए । सानै उमेरदेखि बौद्ध दर्शनको सम्यक दृष्टिकोणबाट प्रभावित भएका कारणले सदैव आफनो कर्तव्य पथमा थिए । पाएको जिम्मेवारी इमानदारिताका साथ पूरा गरेका थापा अनुकरणीय र प्रेरणादायी व्यक्तित्वको रुपमा रहेको शिक्षासेवी देवप्रसाद श्रेष्ठले भने, ‘आउँदो पुस्ताले उहाँको आचरण, जीवनशैली र इमानदारिताबाट प्रेरित हुँदै अगाडि बढेमा थापाप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।’ मृत्युको अन्तिम क्षण अर्थात् बोली बन्द भइसकेको अवस्थामा नजिकको आफन्तसँग कापी र कलम लिएर अंग्रेजीमा ‘बुद्ध र पिस’ लेखेका थिए । यो नै उनको अन्तिम हस्ताक्षर हो । कान्तिपुरबाट ।







