कमलामाई नेपाली फिल्मलाई मेरोतर्फबाट क्यारेक्टर उपहार : विपिन कार्की

जनपत्र
७ भाद्र २०८०, बिहीबार ०६:२२

भदौ १ गते भिन्न दुई फिल्मका पोस्टर रिलिज भए । चित्रण गरिएका कलाकार चाहिं एउटै। ‘एक भगवत् गीता’को पोस्टरमा विपिन कार्की पारालैंगिक चरित्र कमलामाईको अवतारमा थिए । ‘पशुपतिप्रसाद २’को पोस्टरमा चाहिं भष्मे डनको चरित्रमा ।

प्रायः फिल्मको पोस्टर आउने बेला हल्ला कमै हुने गर्छ तर, यी दुई फिल्मका पोस्टरले राम्रै चर्चा बटुले । विपिन कार्कीको एउटै पोस्टरले अन्य फिल्म र कलाकारलाई छायामा पारेको चर्चा पनि चल्यो ।

भदौ २९ गते प्रदर्शनको तयारीमा रहेको ‘एक भगवत् गीता’ र दशैंमा रिलिज तयारीमा रहेको ‘भष्मे डन’ विपिनको लाइनअपका दुई प्रतीक्षित प्रोजेक्ट हुन् । ‘यी दुवै फिल्म मेरा लागि आशालाग्दा छन् । दुवैप्रति मेरो प्रेम छ । भष्मेडनमा नयाँ आयाम देखाउन पाएको छु । एक भगवत् गीतामा पूरै नयाँ चरित्र छ,’ कार्कीले भने ।

विशेषगरी कमलामाई पात्रलाई लिएर विपिन उत्साहित सुनिए । ‘यो क्यारेक्टर अझै उल्लेखनीय हुनेछ । दर्शकलाई प्रतीक्षित र रमाइलो हुने खालको छ,’ उनी भन्छन्, ‘कलाकारको रुपमा नयाँ पात्रको जन्म लिएको छु । यतिबेला डबिङ पनि भइरहेको छ । डबिङमा फिल्म हेर्दा पनि एक खालको मज्जा आइरहेको छ । इन्जोय गरिएका क्यारेक्टर रमाइला हुन्छन् । यसलाई लिएर आशावादी छु । अहिले भगवत् गीतामै फोकस छु ।’

कमलामाई पात्रले बहिष्कृत र विभेदमा परेका समलिंगी र पारालैंगिक समुदायको सन्देश दिने विपिनको कथन छ । ‘मैले त्यो समुदायको प्रतिनिधि पात्रको भूमिकामा अभिनय गरेको छु । सो समुदायका सदस्यले पनि गम्भीर रुपमा लिएको पाएको छु । कमलामाईको पात्र आफू बन्न गरेको संघर्ष हो,’ पात्रबारे उनले भने ।

उनी अगाडि भन्छन्, ‘हामीले एलजीबीटीक्यूआई समुदायलाई हाँसोको पात्र बनायौं । हामीले गहन तरिकाले हेरेनौं । पहिलोपटक नेपाली फिल्ममा मानवीय रुपमा सकारात्मक सन्देश दिने खालको क्यारेक्टर गरेको छु ।’ उनले यसमा कमलामाईको आंशिक कथालाई मात्र प्रस्तुत गरिएको बताए । यो पात्रले आफ्नो समुदायको लागि लडेको उनी बताउँछन् ।

कमलामाई पात्र आफ्नो जीवनको आर्काइभमा बस्ने उनी बताउँछन् । ‘हरि, बिन्दु, फणिन्द्र र भष्मेडनजस्तै यो चाहिं मेरो जीवनको आर्काइभमा बसेका पात्रमध्ये अग्रस्थानमै बस्छ । नेपाली फिल्म उद्योगलाई मेरो क्यारेक्टर उपहारजस्तै हुन्छ कि भन्नेमा ढुक्क छु,’ उनी भन्छन् ।

कामको कुरा गर्दा विपिनले हालै फिल्म ‘काजी’ साइन गरेका छन् भने अर्को एक प्रोजेक्टमा काम गर्नको लागि उनी चाँडै सिक्किममा जाने तयारीमा छन् ।अनलाइनखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*