मेरो भ्वाइस प्रितम राई र डान्स युनिभर्स खुशी कार्कीले जिते

जनपत्र
३ भाद्र २०८०, आईतवार ०७:००

नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’को उपाधि प्रितम राई (भारत)ले र नृत्यतर्फको ‘मेरो डान्स युनिभर्स’ को उपाधि खुशी कार्की (थाइल्यान्ड)ले हात पारेका छन् ।

त्यसैगरी ‘मेरो भ्वाइस युनिर्भस’को फस्ट रनरअप शिशिर ठटाल (भारत) र ‘मेरो डान्स युनिर्भस’ को फस्ट रनरअप देवी गर्बुजा (बेल्जियम) भए। ती प्रतियोगिताको आज भएको अन्तिम प्रतिस्पर्धा (ग्रान्ड फिनाले)मा अन्तिम पाँच–पाँच प्रतियोगीबाट उनीहरू छानिएका हुन् । उनीहरू दर्शक तथा स्रोताको मतबाट छानिएका हुन् ।

‘मेरो डान्स युनिभर्स’ को उपाधि खुशी कार्कीलाई दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ।

मेरो भ्वाइस युनिभर्स सेकेन्ड रनरअफमा शरद हुमगाईँ (नेपाल), थर्ड रनरअपमा परेश राई (नेपाल) र फोर्थ रनरअप साइराज खाती (भारत) बनेका छन् । त्यस्तै ‘मेरो डान्स युनिभर्स’ सेकेन्ड रनरअपमा मिग्मा डि लेप्चा (भारत), थर्ड रनरअपमा स्वस्तिक अर्याल (नेपाल) र फोर्थ रनरअपमा नेसन सुस्लिङ मगर (नेपाल) बन्न सफल भए ।

इन्ट्रा नेपाल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले सञ्चालन गरेको दुवै प्रतियोगिताका विजेताले जनही रु एक करोड, फस्ट रनरअपले रु ३० लाख र सेकेन्ड रनरअपले रु २० लाख, थर्ड रनरअपले रु १० लाख र फोर्थ रनरअपले रु पाँच लाखसहित विभिन्न पुरस्कार प्राप्त गरे ।

आज साँझ गोदावरीको सनराइज कन्फ्रेन्स् हलमा भएको ‘टप फाइभ’ बीचको ‘ग्रान्ड फिनाले’ मा समूह नृत्यतर्फ भने नेपाल प्रहरी (नेपाल) विजेता बनेको छ । सो समूहले रु २० लाख पुरस्कार प्राप्त गरेको छ । फस्ट रनअर अपमा नितृ कला प्रतिष्ठान(धरान) ले रु १० लाख र सेकेन्ड रनरअपमा भारती कल्चर ग्रुप (भारत)ले पाँच लाख प्राप्त गरेको छ ।

उनीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पुरस्कार प्रदान गरे । कलाकारलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको ठूलो सङ्ख्याको उपस्थिति रहेको उक्त ग्रान्ड फिनालेमा विजेता र उपविजेता घोषणा गरिएको र उनीहरूलाई प्रधानमन्त्री दाहालले बधाई ज्ञापन गर्दै पुरस्कार वितरण गरेका थिए ।

त्यस अवसरमा उहाँले संसारभर नेपाल र नेपाली चिनाउने गरी आयोजना गरिएको यो प्रतियोगिता नेपाली भाषा र संस्कृतिको संरक्षण र संवर्द्धनका लागि एक महाअभियान भएकाले यसलाई आगामी दिनमा थप विस्तारित गर्न आग्रह गरे ।

सो गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’तर्फ सिक्कमका शिशिर ठटाल र प्रितम राई, दार्जिलिङका साइराज खाती तथा नेपालको सङ्खुवासभाका परेश राई र काभ्रेका शरद हुमागाईँ अन्तिम पाँचमा थिए । त्यसैगरी नृत्य प्रतियोगिता ‘मेरो डान्स युनिभर्स’तर्फ मिङा डि लेप्चा (सिक्किम), खुसी कार्की (थाइल्यान्ड) , देवी गर्वुजा मगर (बेल्जियम) तथा नेपालको नेशन सुस्लिङ मगर महोत्तरी र गोरखाका स्वस्तिक अर्याल अन्तिम पाँचमा परेका थिए ।

तीन महिनासम्म छनोट र नेपाल टेलिभिजनबाट प्रसारण भएका दुई कार्यक्रमले संसारभर रहेका नेपालीको ध्यान तान्न सफल भएको थियो । फाउन्डेसनले संसारमा छरिएर रहेका नेपाली जातिबीचको आपसी सद्भावलाई कायमै राख्न र नेपाली भाषा र संस्कृतिलाई उनीहरूमाझ जीवन्त राखिराख्न सघाउने उद्देश्यले यो गायन र नृत्य प्रतियोगिताको आयोजना गरिएको बताउँदै आएको छ ।

पुरस्कार वितरण समारोहमा उक्त फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले एउटै मञ्चमा विश्वभरका प्रतिभाशाली नेपाली सुन्दर फूल देखिएका र उनीहरूको सपनासँगै कला र संस्कृतिलाई आफूहरूले विश्वभरका नेपाली र नेपालीभाषीसम्म पुनः पुर्याउन सफल भएको बताए । उनले यसबाट संसारका सबै नेपाली खुसी भएका र उनीहरूले आगामी दिनमा यस कार्यक्रमले निरन्तरता पाओस् भन्ने कामना गरेका जनाए ।

गायन प्रतियोगिताका निर्णायकमा ‘मेरो भ्वाइस युनिभर्स’मा गायक दीप श्रेष्ठ, सुरेश अधिकारी, अञ्जु पन्त, पुष्पन प्रधान, सुजता बर्मा हुन्, भने नृत्य प्रतियोगिता ‘मेरो डान्स युनिभर्स’मा अभिनेत्री मिथिला शर्मा, शङ्कर बिसी, दिलीप रायमाझी, प्रियङ्का कार्की, केकी अधिकारी र नरमान राई निर्णायक थिए ।

यी प्रतियोगिताका लागि उक्त फाउन्डेसनले गत वर्षदेखि विश्वका विभिन्न ५२ देशबाट प्रतिभा छानेको थियो । ती देशबाट गायनमा एक सय २० र नृत्यमा एक सय २० जना कलाकार छानी उनीहरूलाई तीन महिनाअघि नेपाल ल्याएर प्रतिस्पर्धा गराएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*