मकवानपुरमा वन फँडानी तीव्र
हेटौंडा / मकवानपुरको चुरे क्षेत्रभित्र पर्ने दर्जन सामुदायिक वनमा अवैध फँडानी गरिएको छ। ढलापडा काठ संकलन अनुमति लिएर काँचो सालको रूख फँडानी गरेको पाइएपछि डिभिजन वन कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ती सामुदायिक वनका उपभोक्ता समिति र ठेकेदारविरुद्ध कानुनी कारबाही अघि बढाएको छ।
वागमती गाउँपालिका–३ स्थित चिरुवा सल्लेनी सामुदायिक वनबाट डिभिजन वन कार्यालय मकवानपुरले ५ हजार २ सय ३१ क्युफिट सालको काठ बरामद गरी ४२ लाख ५५ हजार रुपैयाँ बराबर बिगो दाबी गर्दै जिल्ला अदालत मकवानपुरमा मुद्दा दायर गरेको थियो।
बकैया गाउँपालिका–२ स्थित थाकलचौर सामुदायिक उपभोक्ता समितिले पनि ३ हजार तीन सय ४६ क्युफिट सालको काँचो काठ बरामद गरी ३० लाख ४ हजार रुपैयाँ बिगो मागसहित उपभोक्ता समितिका नौ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको कार्यालय प्रमुख इमनाथ पौडेलले बताए।
बकैया गाउँपालिका–११ स्थित ठिंगनमा रहेको गमलटार सामुदायिक वन उपभोक्ता समितिले कटान गरेको ६ हजार ६ सय ३१ क्युफिट सालको काँचो काठ बरामद गरी ४६ लाख २७ हजार ७ सय बिगो दाबी गर्दै विभिन्न व्यक्तिविरुद्ध अदालतमा मुद्दा दायर गरिएको छ।
बागमती गाउँपालिका ९ स्थित अमलेचौर सामुदायिक वनमा कटान गरिएको ३ सय ५७ क्युफिट सालको काठ बरामद गरी ४ लाख ७५ हजार ५ सय रुपैयाँ बिगो दाबी गर्दै संलग्नलाई कानुनी कारबाहीका लागि मुद्दा दायर गरिएको पौडेलले बताए।
चुरे क्षेत्रभित्र पर्ने बागमती गाउँपालिका–४ स्थित लालीगुराँस सामुदायिक वनभित्र एक सय ३५ क्युफिट सालको काठ, बकैया गाउँपालिका–८ शिखरपुरस्थित देउतीखोला सामुदायिक वन उपभोक्ता समितिभित्रबाट ८ हजार ९ सय ५५ क्युफिट सालको काठ बरामद गरी अनुसन्धान भइरहेको उनले जानकारी दिए। ‘अदालतबाट फैसला हुन बाँकी छ’, उनले भने।
अख्तियारमा आधा दर्जन उजुरी
आयोगको हेटौंडास्थित कार्यालयमा बकैया गाउँपालिका–१० स्थित सेतीदेवी सामुदायिक वन, बकैया गाउँपालिका–२ धियाँलस्थित ब्रह्म सामुदायिक वन, बागमती गाउँपालिका–४ स्थित लालीगुराँस सामुदायिक वन समूह, बागमती–९ स्थित अमलेचौर सामुदायिक वन उपभोक्ता समितिविरुद्ध उजुरी परेको छ।
‘ढलापडाको अनुमति लिएर अवैध सालको रूख कटान गरी काठ हिनामिना गरेको उजुरी परको छ’, कार्यालयका प्रवक्ता देवकुमार राईले भने।राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति अनुसन्धान तथा कार्यक्रम सहयोग एकाइ हेटौंडाका नायब सुब्बा हिमाली दाहालले वन विनाको एकिन तथ्यांक नभएको बताइन्। मकवानपुरको ५८ प्रतिशत अर्थात् १ लाख ४० हजार २ सय ९७ हेक्टर चुरे क्षेत्रमा पर्छ। आजको अन्नपुर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।






