कोशी प्रदेश सरकार गठनको मुद्दा : निवेदकहरुको बहस सकियो, भ्याएसम्म आजै फैसला सुनाउने तयारी
कोशी प्रदेश सरकार गठनको विवादसम्बन्धी रिट निवेदनमाथि मंगलबार निवेदकहरुको बहस सकिएको छ। निवेदकहरुको बहस सकिएपछि सरकारी पक्षले बहस गरिरहेको छ।
यसपछि जवाफी बहस सक्ने र फैसला सुनाउने तयारी छ। सकेसम्म आजै र सकिएन भने हेर्दाहेर्दैमा राखेर भोलि बुधबार फैसला सुनाउने तयारी गरिएको छ।
आज बहसका लागि निवेदक र प्रतिपक्षलाई २र२ घन्टा र सरकारी पक्ष र जवाफी बहसका लागि १र१ घन्टा समय छुट्याइएको छ।
कोशी प्रदेश सरकार गठनको विवादसम्बन्धी रिट निवेदनमा सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ भइरहेको छ। न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ भएको हो।
प्रदेश सभाका सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर संलग्न गरी नेपाली कांग्रेसका नेता उद्धव थापाको नेतृत्वमा सरकार गठन गरिएको, र उक्त कार्य संविधान विपरीत भएको भन्दै नेकपा एमालेका प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
उक्त रिटमा असार २७ गते पहिलो सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले आइतबारका लागि अन्तिम सुनुवाइको मिति तोकेको थियो।
आइतबारदेखि अन्तिम सुनुवाइ सुरु हुने भनिए पनि सोमबारसम्म पनि सुनुवाइ सुरु हुन सकेको थिएन। आइतबार हेर्न नमिल्ने न्यायाधीशको इजलासमा परेपछि मुद्दाको सुनुवाइ सरेको थियो। सोमबार न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासमा पेसी परेपनि संवैधानिक इजलासमा पठाउने भन्ने विवादका कारण सुनुवाइ सुरु हुन सकेन।
न्यायाधीश माथेमा र श्रेष्ठको इजलासले रिटलाई पूर्ण इजालसबाट सुनुवाइ गर्ने आदेश दिएपछि मंगलबार पूर्ण इजलासमा पेसी तोकिएको हो।






