प्रकाश सपूतको ‘दमाई महाराज’ युट्युब ट्रेन्डिङको एक नम्बरमा

जनपत्र
६ श्रावण २०८०, शनिबार १४:१७

गायक प्रकाश सपूतको गीत ‘दमाई महाराज’ सार्वजनिक भएको चौबीस घण्टा नपुग्दै युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको छ । हिजो साँझ सार्वजनिक भएको गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको हो ।

चौबीस घण्टा नपुग्दै गीत युट्युबमा ११ लाखभन्दा धेरैले हेरिसकेका छन् ।

स्वर, शब्द र संगीत सपूतकै रहेको गीतमा महिला भोकलमा शान्तिश्री परियारले साथ दिएकी छन् ।

भजन शैलीमा ल्याइएको गीत जातीय विभेदविरुद्ध रहेको छ । गीतमा धार्मिक अध्ययन र भक्तिबाट पारंगत भएर फर्किएको दलित समुदायलाई प्रस्तुत गरिएको छ ।

गीतले मन भुलाउन सहयोग गर्ने विश्वास लिएको सपूतले सामाजिक सञ्जालमार्फत बताएका छन् । उनले भनेका छन्, “यो गीतले हाम्रो मन भुलाउन सहयोग र विश्वास गर्नेछ । भिडियोले हाम्रो विभेदकारी अन्धविश्वासलाई चिर्न सहयोग गर्नेछ ।”

उनले गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरेका छन् । भिडियो निर्देशन पनि उनी स्वयंले गरेका छन् । भिडियोको कन्सेप्ट डिजाइन पनि सपूतकै रहेको छ ।

कोरियोग्राफी गजित विष्टले गरेको भिडियोमा अभिनय सपूत स्वयंका साथ अञ्जली अधिकारीको छ ।

सपूतले विसं। २०८० सालमा जातीय विभेदविरुद्धका सिर्जना ल्याउने बताएका छन् । यसको सुरुआत उनले ‘दमाई महाराज’बाट गरेका छन् । सपूत समाजमा रहेका घटनालाई जस्ताको तस्तै टपक्क टिपेर गीति सिर्जनामा पस्किन सफल सर्जकको छवि बनाउँन सफल गायक हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*