मिटरब्याज सम्बन्धी विधेयक रोक्न चलखेल भइरहेको छ: जनमोर्चा

सत्तारुढ गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले मिटरब्याज सम्बन्धी विधेयक रोक्न चलखेल भइरहेको जनाएको छ।
जनपत्र
३० असार २०८०, शनिबार १७:४१

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शनिबार प्रेस विज्ञप्ति जारी गरी मिटरब्याज सम्बन्धी विधेयक रोक्न चलखेल र दवाव आइरहेको बताएका हुन्। उनले पीडितलाई राहत दिलाउन विधेयक ल्याउनुपर्नेमा जोड दिएका छन्।

“मिटरब्याज सम्बन्धी विधयेक रोक्न चलखेल र दबाब बढेको समाचार सार्वजनिक भएका छन्। मिटरब्याजीले जनतालाई गम्भीर रूपमा शोषण र आर्थिक दोहोन गरेको कुरा स्पष्ट छ,” केसीले भनेका छन्, “मिटरब्याजीको त्यस प्रकारको शोषणकार्यलाई सरकारले पूर्ण रूपमा रोक्नु पर्दछ र त्यसरी शोषण र दोहन गर्नेहरूलाई कडा कारबहीको दायरामा ल्याउनुपर्नेमा हामीले जोड दिन चाहन्छौं।”

मिटरब्याज पीडितको समस्या गम्भीर रहेको उनले औल्याएका छन्। यसको समाधानका लागि सरकार पनि गम्भीर हुनुपर्नेमा उनले जोड दिएका छन्।

त्यसका कानूनी व्यवस्थासहित कडा कदम चाल्न पनि केसीले आग्रह गरेका छन्। “मिटरब्याज पीडितलाई राहत दिलाउन ल्याउन थालिएको मिटरब्याज सम्बन्धी विधेयक आउन नदिनका लागि भएका चलखेल र दबाबलाई परास्त गर्दै सरकारले उक्त विधेयक ल्याउनुपर्नेमा हामीले जोड दिन चाहन्छौं,” केसीले भनेका छन्।

मिटरब्याज पीडितका समस्या समाधान गर्न सरकारले यस सम्बन्धी विधेयक ल्याएको थियो। तर, समयमै संसद्मा पेश नगर्दा निष्क्रिय बनेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*