भुवन केसीले मुद्धा हारेपछि सामाज्ञी भन्छिन्, ‘न्यायको सधैं जित हुन्छ’

जनपत्र
२९ असार २०८०, शुक्रबार ०६:३६

२०७७ साल साउन ९ गते अभिनेता भुवन केसीले जिल्ला अदालत काठमाडौंमा अभिनेत्री साम्राज्ञी आरएल शाहविरुद्ध १० करोड क्षतिपूर्तिको माग गर्दै गाली बेइज्जती मुद्दा हालेका थिए । अदालतमा मुद्धा परेको करिब तीन वर्षपछि बुधबार भएको सुनुवाइमा भुवनले मुद्धा हारेका छन् । न्यायाधीश वासुदेव पौडेलको एकल इजलासले जाहेरीकर्ता केसीको दाबी नपुग्ने फैसला गरेको हो ।

आफूले मुद्धा जितेपछि अभिनेत्री शाहले बुधबार साँझ इन्स्टाग्राममा एक भिडियो पोस्ट गर्दै खुसी व्यक्त गरेकी छन् । उनले न्यायको सधैं जित हुने उल्लेख गरेकी छन् । उनी भिडियोको क्याप्सनमा लेख्छिन्, ‘हरेक नवोदित कलाकार र उदयीमान महिलाहरूको लागि, कसैलाई पनि आफ्नो आवाज बन्द गर्न नदिनुहोस् । आफ्नो सत्य बोल्नुस् र आफूले विश्वास गरेको कुरामा खडा हुनुहोस् ।’

भिडियोमा उनी मुद्धा जितेकोमा खुसीले भावविह्वल समेत भएकी छन् । उनले भुवन केसीको नाम उच्चारण नगरी भनेकी छन्, ‘त्यो व्यक्तिले मलाई म शक्तिशाली छु, फिल्म क्षेत्रमा समर्थन छ भनेर देखाउनु थियो । र, मलाई १० करोडको मुद्धा हालेर फेरि बुलिङ गरियो । आफ्नो अनुभव बोल्न पनि नपाइने रैछ । यो निकै डरलाग्दो छ । जे भयो त्यसले अब त मलाई आश्चर्यचकित बनाउँदैन ।’

तीन वर्षअघि साम्राज्ञीले सामाजिक सञ्जालमा एक भिडियोमार्फत् फिल्म ‘ड्रिम्स’को सुटिङमा आफूले लैंगिक भेदभावको सामना गरेको अनुभव सुनाउँदै जापानमा आयोजित अवार्ड कार्यक्रममा भुवन केसीले दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । भुवनले पनि फेसबुकमा साम्राज्ञीलाई छुचो जवाफ फर्काउँदै ‘जुन थालमा खायो, त्यही थालमा दुलो पारेको’ भन्दै आक्रोश पोखेका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*