भुवनलाई दीर्घसाधना सम्मान, आर्यन र प्रमिला सर्वोत्कृष्ट नायक/नायिका
अभिनेत्री भुवन चन्दलाई दीर्घसाधना सम्मान प्रदान गर्दै पाँचौं पिम नेपाल फिल्म फेस्टिभल सम्पन्न भएको छ । तीन दिनसम्म चलेको फेस्टिभलमा आर्यन सिग्देल र प्रमिला कार्कीले उत्कृष्ट अभिनेता अभिनेत्रीको अवार्ड प्राप्त गरेका छन् ।
फेस्टिभलमा सिग्देलले चलचित्र डिडेम्बर फल्स र कार्कीले चलचित्र बगानबाट उक्त अवार्ड प्राप्त गरेका हुन् । चलचित्र लाखेबाट सम्राट बस्नेतले उत्कृष्ट फिचर फिल्म निर्देशकको अवार्ड प्राप्त गरे । सर्वोत्कृष्ट फिचर फिल्मको अवार्ड चलचित्र प्रकाशबाट निर्देशक दिनेश राउतले प्राप्त गरेका छन् ।
चलचित्र प्रकाशबाटै सर्वोत्कृष्ट फिचर फिल्म लेखकको अवार्ड विकास सुवेदीले प्राप्त गरे भने सर्वोत्कृष्ट भीएफएक्स आर्टिष्टको अवार्ड समिर मियाले प्राप्त गरे । समारोहमा फिचर फिल्मतर्फको जुरी अवार्ड चलचित्र नम्बरी सुनले पायो भने फिचर फिल्म निर्देशनतर्फको जुरी अवार्ड चलचित्र डेशानबाट कमल एक्चै मगर र वेष्ट एक्टर जुरी अवार्ड चलचित्र लाखेबाट रोहित रुम्बाले प्राप्त गरेका आयोजकले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।






